– एजेन्सीपापाराजीलाई पत्नीबाट टाढै राख्न ‘डेस्परेट हाउसवाइभ्स’ नायक ब्रायन अस्टिन गि्रन मेगानको वरिपरि सधैं रहिरहे । उनले पनि नायिका गर्भवती भएको या नभएको बारे बोल्ने आवश्यकता देखेनन् । तर दुई वर्षे विवाह-एनिभर्सरी मनाउन हवाई पुगेका उनीहरूको फोटा पापाराजीले लुकेर लिएपछि ३८ वर्षे नायकले टि्वटरमा फ्यानलाई धन्यवाद दिँदै ‘हामी धेरै खुसी छौं’ लेखेका थिए । यो टि्वटर सन्देशबाट उनले अनौपचारिक रूपमा पत्नी गर्भवती भएकोमा खुसी बाँडेको अड्कल लगाइएको छ । नायिकाले भने अझै केही बोलेकी छैनन् ।
मिडिया एटेन्सनबाट टाढा बस्न हरप्रयास गरेका मेगान-ब्रायन दुई वर्ष अघि विवाह बन्धनमा बाँधिएको रिसोर्टमा एनिभर्सरी मनाउन पुगेका थिए । त्यहाँ सनबाथ लिन लियोपार्ड-पि्रन्टेट-बिकिनी र सेतो रंगको लामो फ्लोटिङ म्याक्सी-स्कर्ट लगाएर रिसोर्ट बाहिर पति ब्रायनसँग निस्केकी उनको पेट निकै बढिसकेको फोटामा देखिएपछि उनी गर्भवती भएको पक्का भएको हो । आफ्ना प्रवक्ताबाट हरेक खबर विज्ञप्तिबाट सुनाउने सेलिबि्रटी प्रचलनदेखि टाढा उनीहरूले विवाहको एनिभर्सरी मनाउँदै बच्चाको खुसीको खबर फोटाबाटै सबैतिर बाँडे ।
फोटामा मेगानलाई ब्रायनको अँगालोमा धेरै खुसी देखिन्छ । पुक्क उठेको पेटमा ब्रायनले सुम्सुमाइराखेका साथै म्वाई पनि खाएका फोटा ट्याबलोइडमा छापिएका थिए । मेगानले पहिलेदेखि नै आफूलाई बालबालिका मनपर्ने बताउँदै आएकी छन् । ‘मलाई बच्चा साह्रै मन पर्छन्,’ २६ वर्षीया नायिकाले एक अन्तरवार्तामा भनेकी थिइन् ।



