बलिउड नायिका सोनाक्षी सिन्हालाई इमरानसँग रोमान्समा

– एजेन्सी

 

मुम्बई  – ‘दबंग’बाट डेब्यु गरेकी बलिउड नायिका सोनाक्षी सिन्हालाई उमेरमा झन्डै दोब्बर जेठा नायकहरूसँग देखिँदै आएको छ । बक्स अफिस सफलता हेर्दा सलमान खान, अक्षय कुमार, अजय देवगन उनको करिअरका लागि फापेको पनि देखिन्छ । तर, बलिउडका बूढाहरूसँग रोमान्स गर्दागर्दा २५ वर्षीया थाकेकी छन् जस्तो छ, पछिल्लो फिल्म ‘वान्स अपन अ टाइम अगेन’ मा उनी इमरान खानसँग रोमान्स गर्दै छिन् ।

निर्देशक मिलन लुथरियाको सफल फिल्म ‘वान्स अपन अ टाइम इन मुम्बई’ को सिक्वेलमा २९ वर्षे इमरानसँग सोनाक्षी देखा पर्न लागेकी हुन् । पहिलो पटक फिल्ममा सँगै देखिन लागेका यी दुई केही म्यागेजिन कभरका लागि मात्र सँगै देखा परेका थिए । त्यसैले, अगस्टमा छायांकन सुरु हुने यस फिल्मका निर्देशकले उनीहरूलाई एकअर्कालाई राम्ररी बुझ्न र भूमिकाका लागि तयारी गर्न निर्देशन दिइसकेका छन् ।

ग्याङस्टर फिल्म सिक्वेलमा लुथि्रयाले फिल्मलाई सकेसम्म सत्य कथाजस्तो देखाउन इमरानलाई सहरका स्थानीय ग्याङस्टरहरूसँग नजिकिन निर्देशन दिएका थिए । भूमिकामा डुब्न ग्याङस्टरहरूको रहनसहन, बोलीचाली सबै बुझ्न र अध्ययन गर्न लगाएका निर्देशकले पछिल्लो पटक भने सोनाक्षीसँग सुन्दर र सेक्सी केमेस्ट्री विकासका लागि भेटघाट क्रम बढाउन निर्देशन दिएका हुन् ।

‘स्त्रिmनमा उनीहरूको जोडी पहिलेदेखिका राम्रा साथी जस्तो देखिनुपर्ने हुन्छ,’ जानकारले भने, ‘मिलनले नभन्दासम्म इमरान र सोनाक्षीबीच त्यति राम्ररी चिनजान थिएन ।’ त्यसैले, स्त्रिmनलाई तताउने केमेस्ट्रीको लागि दुई जनाले एकअर्कासँग भेटघाट गरिरहेका छन् र भूमिकाका लागि अभ्यास गरिरहेका छन् । ‘इमरानले सोनाक्षीलाई डिनरमा निम्तो गर्ने पनि सोचेका छन्,’ जानकारले भने ।

यस फिल्मका साथसाथै यो जोडीलाई फ्यानले तिग्मांशु धुलियाको फिल्म ‘मिलन टाकिज’ मा पनि सँगै देख्न पाउने पक्कापक्की भएको छ । सानो सहरको रोमान्स पर्दामा उतार्न लागिएको यस फिल्ममा सोनाक्षी गाउँले केटीको भूमिकामा देखिनेछिन् ।

करिना कपुरसँगको ‘एक मैं और एक तू’ फ्लप भएपछि इमरान ‘मात्रु की बिजली का मन्डोला’ फिल्मको रिलिज दिन पर्खिराखेका छन् । शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी भने ‘ओह माई गड’, ‘सन अफ सरदार’, ‘दबंम टु’ र ‘लुटेरा’ को छायांकनमा व्यस्त छिन् ।