श्रावण शुक्ल पञ्चमीका दिन साउन ९ गते नै नागपूजा गर्नु शास्त्रसम्मत

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रावण शुक्ल पञ्चमीका दिन साउन ९ गते नै नागपूजा गर्नु शास्त्रसम्मत रहेको जनाएको छ।



यस वर्षको नागपञ्चमीको निर्णय नमिलेको भनी केही पत्रपत्रिकामा प्रतिक्रिया बएपछि समितिको ध्यानाकृष्ट भएको जनाउँदै नागपञ्चमीको निर्णयबारे समितिको बैठकमा पञ्चाङ्ग प्रकाशनपूर्व सम्बन्धित विषयका विज्ञहरूद्वारा शास्त्रका आधारमा व्यापक छलफल भई निर्णय भएको सो समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


‘पञ्चमी नाग पूजायां कार्या षष्ठी समन्विता।
तस्यान्तु तुषिता नागा इतरा सचतुर्थिका।।’


अर्थात् षष्ठीयुक्त पञ्चमी तिथिमा पूजा गर्नाले नागदेवता खुसी हुन्छन् भन्दै उदय पञ्चमीमा नै नागपूजा गर्ने हाम्रो परम्परासमेत रहिआएको विज्ञप्तिमा उल्लेख छ। रासस