शंकरदेब क्याम्पसका पुरुषोत्तम चौलागाईं र गोल्डेनगेटका रौशनकुमार जैसवाल समान पाँच अंकका साथ प्रथम क्याथफोर्ड विश्वबिद्यालय बुद्धिचाल प्रतियोगिताको शिर्षस्थानमा रहेका छन् । सोमबार सम्पन्न पाँचौं चरणको खेलमा पुरुषोत्तमले सिभिएम कलेजका शुशील चौधरी लाई प्रतिस्पर्धात्मक खेलमा माथ गरेका थिए भने रोशन भने एडभान्स इन्जिनियरिङ्ग कलेजका निकेश दुवालविरुद्ध भाग्यमानी ठहरिए । बराबरी खेलमा निकेश समय दबावमा हारे ।
त्यस्तै महेन्द्ररत्न क्याम्पसका श्यामबाबु शाह पीरामिड कलेजका सुरज पण्डित दमक क्याम्पसका प्रकाश नेपाल र गोल्डेनगेटका मदनकृष्ण कायस्थ समान ४ दशमलव पाँच अंकका साथ संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन् ।
विश्वबिद्यालय खेलकुद संघ नेपालको आयोजनामा संचालन भैरहेको यस प्रतियोगितामा शुशील र निकेशसहित पाटन क्याम्पसका सौरभ प्रधान पशुपति क्याम्पसका सुमन राई गोल्डेनगेटका प्रशान भासिमा क्याथफोर्डका सूर्यसन प्रजापति अनिल पुनमगर प्रसुन जजोडियाको चार अंक रहेको छ । चार अंक प्राप्त गर्ने अन्य खेलाडीहरुमा डेविड न्हेमाफूकी सुनिल बोहजु विक्रमध्वज श्रेष्ठ ग्रृष्मा प्रधान सन्दिप चौधरी राजन दाहाल डम्बर चौहान र सबिन डंगोल रहेका छन् ।
स्वीस लिग ९ चरणको खेल हुने यस प्रतियोगिताका विजेताले नगद २५ हजार उपविजेताले १५ हजार र तृतीयले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक संघका महासचिव पूर्ण िसंह बोहराले बताएका छन् । युनीग्लोब कलेज बानेश्वरमा संचालन भैरहेको यस प्रतियोगिताका मंगलबार बिहान ११ बजे छैटौं र दिउँसो २ बजे सातौं चरणका खेलहरु हुनेछन् ।