
आज ६३ औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।
राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राह्मणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले पहिलो पटक हलो जोतेका थिए ।
२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो । २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा तथा २००८ सालमा स्याङ्जामा पनि हलो जोत्न शुरु गरिएको थियो । बाहुनले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दैछ ।
प्रतिष्ठानले हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मनाउन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिन माग गर्दै आएपनि सुनुवाई भने भएको छैन । RSS