काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा बढेका मुल्य र भारतीय रुपैया कमजोर हुदा स्थानीय बजारमा सुनको मुल्य पुन उकालो लागेको छ । केही दिन देखि लगातार उकालो लागेको सुनको मुल्य विहीवार तोलामा ५७ हजार माथि पुगेको छ ।
अघिल्लो दिनको तुलनामा झन्डै ६ सय रुपैया बढेर कारोवार भएको सुनचादी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘विहीवार प्रतितोला सुनको मुल्य ५७ हजार १ सय (दशग्राममा ४८ हजार ९ सय ५५) रुपैया पुगेको छ,’ शाक्यले भने । उनका अनुसार बुधवार स्थानीय बजारमा प्रतितोला सुन ५६ हजार ५ सय ५० (दश ग्राममा ४८ हजार ४ सय ८०) रुपैयामा किनवेच भएको थियो ।
अमेरीकी डलरमा सुन किनीने भएकाले भारतीय रुपैया कमजोर हुदा स्थानीय बजारमा सुनको मुल्य बढेको हो । भारतीय रुपैयासंग नेपाली रुपैयाको समान सटही दर छ ।
यस्तै अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढ्नु पनि स्थानीय बजारमा उकालो लाग्नुको कारण हो । अन्तर्राष्ट्रिय बजारमा विहीवार प्रतिआउन्स सुनको मूल्य १ हजार ६ सय ४ अमेरीकी डलर कायम भएको थियो । बुधवार प्रतिआउन्सको मुल्य १ हजार ५ सय ८४ डलर थियो । विहीवार साझमा अन्तर्राष्ट्रिय मुल्य अझ उकालो लागेकाले स्थानीय बजारमा शुक्रबार अझै मुल्य बढ्ने संभावना रहेको उनले बताए ।
मूल्य बढेपछि स्थानीय बजारमा सुनको माग घटेको उनले बताए । ‘अहिले सुन व्यापारको सिजन हैन,’ उनले भने, ‘त्यही बेला बढेको मुल्यको कारण स्थानीय बजारमा सुनको माग अझ ओरालो लागेको छ ।’
बजारमा माग कम भएपनि अझै अबैध रुपमा आएको सुनको विक्री भइरहेको छ । भन्सार नतिरी भित्रिएको सुनले स्थानीय बजारको झन्डै आधा माग धानिरहेको व्यवसायीको भनाई छ । झन्डै एक महिनाअघिसम्म बैकको सुन विक्री नभई अबैध सुनको मात्र कारोबार हुने गरेको थियो । तर व्यवसायीहरु नै अबैध सुनको कारोवारमा सक्रिय भएको समाचार आएपछि अहिले यसमा कमी आएको छ ।



