वेईजीङ ओलम्पिकको च्याम्पियन चीन लण्डन ओलम्पिकमा पनि उपाधि रक्षाको बाटोमा अघि वढेको छ । लण्डन ओलम्पिकको दोस्रो दिन चीनले चार स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता बनाएको छ । अमेरिकालाई पछि पार्दै ईटालीले दुई स्वर्ण पदक जितेको छ ।
अमेरिका, दक्षिण कोरीया, ब्राजील, रुस, काजखस्तान र अष्ट्रेलियाले एक एक स्वर्ण पदक जितेका छन् । चिनकी शुटिङ खेलाडी लि सिनिङ १० मिटर एयर राईफलमा स्वर्ण जित्दै लण्डन ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् ।
लण्डन ओलम्पिकको दोस्रो दिन चीनले पौडितर्फ दुई स्वर्ण पदक जितेको छ । चिनकी सिवेन वे ले महिला चार सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण पदक जितिन् भने पुरुष चार सय मिटर फ्रिस्टाईलमा चीनकै याङ सुनले बाजी मारे । भारत्तोलनतर्फ महिला ४८ केजी तौल समुहमा पनि चीनकै मिङ्गान वाङले स्वर्ण पदक जितेकी छन् । लण्डन ओलम्पीकको दोस्रो दिन पदक तालीकामा दोस्रो स्थान लिएको ईटालीले आर्चरी र फेन्सीङमा एक एक वटा स्वर्ण पदक जितेको छ ।
ओलम्पिक खेलकुदमा सदावहार दावेदार अमेरिकाले भने दोस्रो दिन एउटा मात्रै स्वर्ण पदक जितेको छ । पौडीको ४ सय मिटर व्यक्तिगत मिड्ले पुरुषतर्फ अमेरीकाका रायन लोच्टेले स्वर्ण पदक जिते । लण्डन ओलम्पिकको दोस्रो दिनको समाप्तिसम्म १९ वटा राष्ट्र पदक जित्न सफल भएका छन् । -RSS