काठमाण्डौं । काठमाडौंबाट प्राप्त समाचार अनुसार राजधानीमा जारी नेपाल(बङ्गलादेश चौथो वाणिज्य सचिवस्तरीय वार्ता बिभिन्न सम्झौतामा हस्ताक्षर गर्दै आज सकिएको छ। वार्तामा नेपाली कृषि वस्तुलाई शून्य भन्सार सुविधा दिन बङ्गलादेशको टोली सहमत भएको छ । भन्सारसहित अन्य सुविधा आदानप्रदान गर्ने सहमतिमा आज हस्ताक्षर हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले जानकारी दिनुभयो ।
समाचार अनुसार वार्तामा नेपालका दुईसय ४६ कृषि उत्पादनलाई भन्सार रहित प्रबेश दिन बंगलादेश सहमत भएको छ । त्यस्तै फूलबारी बंगलाबन्द मार्ग कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न, रोहनपुर(सिंहवाद मार्गलाई ब्रोडगेजका रुपमा विस्तार गर्न पनि बंगलादेश तयार रहेको छ ।
वार्ताका क्रममा बंगलादेशले नेपाल निर्यात हुने आफ्ना उत्पादन भन्सार महसुल कम गर्न राखेको आग्रह प्रति नेपाल सकारात्मक रहेको छ भने बंगलादेश जाने सवै नेपालीलाई अन अराइभल भिसा उपलब्ध गराउने सहमति भएको छ ।
वार्तामा १५ सदस्यीय नेपाली पक्षको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जोशीले गर्नुभएको छ, भने आठ सदस्यीय बङ्गलादेशी टोलीको नेतृत्व त्यहाँका वाणिज्य सचिव मोहम्मदगुलाम हुसेनले गर्नुभएको छ । नेपालबाट दाल, पिना, अलैँची, गहुँ, तरकारीका बीउबिजन र चाउचाउ सहजै बङ्गलादेश निर्यात गर्ने बारेमा छलफल भएको छ ।



