ब्रोइलर कुखुराको मासुमा मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसंगै ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । प्रतिकेजी २ सय ५० मा बिक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा आजदेखि प्रतिकेजी खुद्रा मूल्य रु २० देखि २५ बढेको हो । दानाको मूल्यमा आकस्मिक मूल्यवृद्धि भएकै कारण मासुको उपभोक्ता मूल्य बढाउन बाध्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर विसीले बताउनुभयो । 
आजदेखि बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी रु २७५ देखि रु २८० सम्ममा बिक्री वितरण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष विसीले जानकारी दिनुभयो ।
बेलाबखत कुखुरामा देखिने वर्डफ्लु रोग, सरकारको लगानीमा उत्साह नदेखिनु र बैंकले कृषि क्षेत्रमा लगानीको वातावरण नबनाएकै कारण कुखुरापालक किसानमा उत्साह हराउँदै गएको दाना उद्योग सङ्घका निवर्तमान अध्यक्ष नारायणहरि खत्रीले बताउनुभयो । नेपालमा काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा दैनिक कूल दुई लाख ५० हजार केजी मासु खपत हुने गरेको छ भने उपत्यका बाहिर दैनिक एक लाख केजी मासु खपत हुने गर्छ ।
हालसम्म देशभरि करिब २०० मासु बिक्री केन्द्रबाट दैनिक तीन लाख ५० हजार केजी मासु बिक्री वितरण हुँदै आएको सङ्घले जनाएको छ ।भारतबाट आयात गर्नुपर्ने विभिन्न कच्चा पदार्थको मूल्य अकल्पनीय वृद्धि भएपछि दानाको मूल्य बढाउन परेको दाना सङ्घले जनाएको छ ।  रासस