प्राविधिक शिक्षाको प्रवेश परीक्षाको नतिजा बेलैमा सार्वजनिक नहुदा ३५ हजार विद्यार्थी अन्योलमा

मकर श्रेष्ठ

 

भक्तपुर  – प्राविधिक शिक्षाको प्रवेश परीक्षाको नतिजा बेलैमा सार्वजनिक नहुदा ३५ हजार विद्यार्थी अन्योलमा छन । ०६९ को शैक्षिक सत्रमा ३५ हजार विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । परीक्षा अघि नै पूर्वाञ्चलमा प्रश्न पत्र बाहिरिएको समाचार आएपछि छानविन भइरहेकोले नतिजा प्रकाशनमा ढिलाई भएको सीटीईभीटीले जनाएको छ । त्यस्तै राजधानीको परिक्षा केन्द्रमा भने नक्कली विद्यार्थीले छात्रबृतिको परिक्षा दिइएको पाइएको थियो ।

शिक्षा मन्त्रालयले शैक्षिक जनशक्तिका प्रमुख सूर्यप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले प्रतिवेदन नबुझाएसम्म साउन ५ र ६ मा भएको प्रवेश परिक्षा रद्ध हुने/नहुने अन्यौलमा छ ।  सीटीईभीटीको शैक्षिक क्यालेन्डरमा भदौ १ देखि नयाू शैक्षिक सत्रको पठन पाठन सुरु गर्ने थियो । तर, प्रवेश परिक्षाको नतिजा प्रकाशन समेत गर्न सकेको छैन ।


 प्रवेश परिक्षा बेलैमा नहुदा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी अन्यौलमा छन । प्रवेश परिक्षामा अनुतिर्ण हुने विद्यार्थीले चालू शैक्षिक सत्रमा ‘प्लस टु’ अध्ययन गर्ने अवसर समेत नपाउने सम्भावना रहेको प्राविधिक शिक्षा अध्ययन गर्ने संस्थाका संगठन फोरम फर हेल्थ टेक्निकल साइन्सका अध्यक्ष कस्यप पौडेलले बताए ।

 

उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायण कोइरालाका अनुसार रजिष्टे्रशन र्फम भर्ने समय भदौ दोस्रो सातासम्म मात्रै रहेको छ । फोरम फर हेल्थले सोमबार प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षामा विद्यार्थीको सहज प्रवेश कसरी गर्न सकिन्छ ? भन्ने बिषयमा राजधानीमा अन्तक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा अधिकांश वक्ताले सीटीईभीटीको परिक्षा प्रणाली र कमजोर व्यवस्थापनकै कारण विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न असहज भएको बताएका छन । ‘सीटीईभीटीका पदाधिकारीलाई विद्यार्थीको भविष्य र संस्थाको लगानी जोगाउने भन्दा पनि कसरी संस्थालाई स्वीकृत दिन सकिन्छ ? भन्ने चिन्ता छ,’बैद्य समूहले नेतृत्व गरेको नेकपा-माओबादीका विद्यार्थी नेता रत्न ढकालले भने ।

कार्यक्रमका वक्ताहरुले बारम्बार प्रवेश परिक्षा लिएर विद्यार्थी र अविभावकलाई तनाब दिनुको सट्टा जुन परिक्ष केन्द्रमा बदमासी देखिएको छ, त्यसको मात्रै परिक्षा रद्ध गर्नु पर्नेमा जोड दिए ।


कलेज सञ्चालकहरुले भने भर्ना लिने समयमा बर्षेनी अप्ठ्यारो समस्या खेप्नु परेको बताए । ‘२ सय संस्थाका सञ्चालकहरुले हरेक बर्ष विद्यार्थी भर्नाको लिने समयमा यो वा त्यो बाहनामा समस्या भोग्नु परेको छ,’ पौडेलले भने,’सीटीइभीटीको यो रबैया यस बर्ष मात्रै नभई बर्षौदेखिको निरन्तरता मात्र हो । प्रवेश परिक्षाको नाममा कर्मचारीलाई भत्तामात्रै खुवाउने होइन विद्यार्थी विद्यार्थीले सहज रुपमा प्राविधिक शिक्षा पढन पाउनुपर्छ भन्ने नै हो ।’ फोरमले एसएलसीमा प्राप्त नम्बरको आधारमा विद्यार्थी भर्ना गरेर प्रवेश परिक्षाको व्यवस्था हटाउनु पर्ने माग राखेका छन् ।


सीटीईभीटीका सदस्य सचिव डा. जयबहादुर टण्डनले अहिले देखिएको समस्या समाधान गर्न लागि परेको बताए । ‘कसरी हुन्छ ? समाधान गर्न लागेका छौ । विद्यार्थी संगठनहरु संग पनि बार्ता गरिरहेका छौ, ‘उनले भने, ‘छानविन समितिको रिपोर्ट आउने बित्तिकै समस्या टुङगिन्छ ।’