नेपालको लज्जास्पद हार : यु-१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनले पराजित

यु-१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनको लज्जास्पद हार ब्यहोरेको छ । आईसीसी अण्डर १९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनले पराजित भएको छ । अष्ट्रेलियाद्धारा प्रस्तुत २ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल २३ दशमलव ५ ओभरमा ८२ रन जोड्दा अल आउट भयो । स्कोरबोर्डमा नेपालको ११ रन हुँदा प्रदिप ऐरीलाई व्यक्तिगत १ रनमा पभेलियनको बाटो देखाएका हृयारी कन्वेले नरेश बुढाऐर र कप्तान पृथु बास्कोटालाई विना रन नै आउट गर्दै हृयाटि्रक गरे ।
त्यसपछि थप १० रन जोड्दा सुभास खकुरेल व्यक्तिगत १२ रनमा आउट भए । पाँचौ विकेटका लागि सागर पुन र राजेश पुलामी मगरले ४२ रनको साझेदारी गर्दै नेपाली पारी सम्हाल्ने प्रयास गरे । तर, स्कोर बोर्डमा नेपालको ६३ रन हुँदा सागर आउट भएपछि नेपालको पतनलाई कसैले रोक्न सकेन । थप १५ रन जोड्दा हसिम अन्सारी व्यक्तिगत १३ रनमा आउट भए भने राहुल विश्वकर्मा व्यक्तिगत ३ रनमा आउट हुँदा नेपालको स्कोर ८१ रन थियो । कृष्ण कार्की १ रन जोड्दै आउट भए भने नेपालको खातामा थप रन नजोड्दै पुलामी पनि व्यक्तिगत २१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा अभिनास कर्ण पनि खाता नै नखोली आउट भएपछि नेपाल फराकिलो हार स्वीकार गर्न बाध्य भयो ।
यसअघि टस हारेर पहिले व्याटिङ्ग थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९४ रन बनाएको थियो । उसका लागि क्यामरुन बानक्रफ्टले शतक पुरा गरे । व्यक्तिगत १ सय २५ रन बनाएका उनले दोस्रो विकेटका लागि कुर्तिस पिटरसनसँग १ सय ६० रनको साझेदारी गरेका थिए । पिटरसन व्यक्तिगत ८६ रनमा पभेलियन फर्किए । नेपालका राहुल विश्वकर्मा र प्रदिप ऐरीले समान २-२ विकेट लिए भने कृष्ण कार्की, भूवन कार्की र अविनाश कर्णले समान १-१ आफ्नो नाममा लेखाए । नेपालले अब आफ्नो दोस्रो खेलमा पर्सी आयरल्याण्डसँग खेल्नेछ ।