लस एन्जल्स – हलिउड अभिनेता ब्राड पिटको बिहे कहिले हुने हो, टुंगो नलागे पनि उनकी पूर्वपत्नी अभिनेत्री जेनिफर एनिस्टनले भने जस्टिन थेरोक्ससँग बिहे गर्ने निर्णय लिएकी छिन्। खासै नाम नचलेका अभिनेता, निर्देशक तथा लेखक थेरोक्ससँग जेनिफरले १५ महिनादेखि डेटिङ सुरु गरेकी हुन्।
‘थेरोक्सले गएको शुक्रबार आफ्नो जन्मदिनमा ठूलो उपहार पाएकी छिन्, जेनिफरले उनको बिहेको प्रस्ताव स्विकारेकी छिन्,’ थेरोक्सका प्रतिनिधिले पिपुल म्यागेजिनसँग आइतबार बताए। दुवैले सन् २०१२ कै फिल्म ‘वान्डरलस्ट’मा सँगै अभिनय गरेका थिए। ४३ वर्षीया जेनिफरको यो दोस्रो र ४१ वर्षे थेरोक्सको यो पहिलो बिहे हुनेछ।
जेनिफरले सन् २००० मा ब्राड पिटसँग बिहे गरेकी थिइन् तर पाँच वर्षमै सम्बन्ध टुंगिएको थियो। जेनिफर छँदाछँदै पिटको सम्बन्ध अभिनेत्री एन्जेलिना जोलीसँग झाँगिएको थियो। पिट र जोलीको यही सप्ताहन्तमा बिहे हुने चर्चा छ। पक्का भइसकेको छैन।
पिटपछि जेनिफरले ‘द ब्रेक अप’मा सँगै काम गरेका अभिनेता भिन्स भानसँग सम्बन्ध बनाइन्। तर जेनिफरको बेलायती मोडल पावल स्कल्फर र पपगायक जोन मेयरसँगको सम्बन्धका कारण सन् २००६ मा अभिनेता भिन्स पन्छिएका थिए।
– एएफपी