भर्खर बिहे गरेका दम्पत्ती यतिबेला अन्योलमा छन् । कोही भन्छन्, मलमासमा सँगै बस्न हुँदैन । कोही भन्छन्, सहवास नगर्दा सँगै बसेर केही हुँदैन । भर्खर भर्खर बिहे गरेकोलाई सँगै बस्ने रहर पूरा भएको छैन । यहीबेला मलमास पर्यो । एक महिना लामो अवधि छुट्टाछुट्टै बस्न पुराना दम्पत्तीलाई त मन लाग्दैन । नयाँ झन् कसरी सक्लान् ?
ज्योतिषहरुका अनुसार मलमासमा गर्भ बस्यो भने त्यो राम्रो हुँदैन । त्यसैले नवदम्पत्ती मलमासभर सँगै बस्न नहुने उनीहरुको मान्यता छ । एक एक महिना भिन्नाभिन्नै बस्नुपर्दा एक त मन नमान्ने । अर्को कामधन्दा र व्यापार व्यवसाय गर्नुपर्नेहरुलाई अव्यवहारिक पनि हुने । सहबास नगर्ने हो भने मलमासको अवधिभर सँगै बस्दा पनि केही नहुने ज्योतिषहरु बताउँछन् । तर सँगै उठबस र लसपस भैरहँदा दम्पत्तीले सहवासको रहर थाम्न सक्लान् ? त्यो पनि गाह्रो छ । सँगै बस्दा पनि गाह्रो, नबस्दा झन् गाह्रो । त्यसैले नव दम्पत्तीलाई मलमासले हैरान र अन्योल बनाएको छ ।
तिथिका हिसाबले भने शनिबारदेखि शुरु हुने भएपनि शुक्रबार बेलुकीदेखि नै मलमास लाग्ने ज्योतिष वासुदेव कृष्णशास्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मलमासभर नव दम्पत्ती सँगै बस्न हुँदैन । महत्वपूर्ण कामकाज र धार्मिक कार्य पनि गर्न नहुने मान्यता छ ।
मलमास अर्थात अधिकवर्ष भनेको के हो ?
शास्त्रीय पक्षअनुसार एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुने गर्दछ । सौरमास र चन्द्रमासमा समीकरण मिलाउन ज्योतिषहरुले अधिकमासको रचना गरेका हुन् ।ज्योतिष तथा विद्वान्हरुको भनाइमा एक मलमासको समाप्तीपछि २८ देखि ३६ महिनासम्ममा अर्को मलमास पर्न आउँछ अन्यथा चन्द्रमासको प्रणाली बिग्रन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराईको भनाइमा मलमास स्वाभाविक नभई विशेषरुपमा आउने गर्दछ ।
स्रोत: रासस