मिस वर्ल्ड २०१२ को फाइनल प्रतियोगिता आज नेपाली सुन्दरी सृष्टिले ताज पहिरिने आशामा नेपालीहरु

मिस वर्ल्ड २०१२ को फाइनल प्रतियोगिता आज चीनको ओडर्समा सम्पन्न हुँदैछ । अघिल्ला बर्षहरुभन्दा यसपटक मिस वल्र्डप्रति नेपालीहरुको चासो धेरै देखिन्छ । किनकी यसपटककी मिस नेपाल सृष्टि श्रेष्ठ रित्तो हात फर्किन्नन् भन्ने आशा र बिश्वास धेरै नेपालीलाई छ ।
सृष्टिले यसका केही संकेत पनि दिइसकेकी छिन् । बिच ब्युटी प्रतियोगितामा सृष्टि उत्कृष्ट १० मा पर्न सफल भएकी छिन् । सो प्रतियोगिताको टाइटल जित्न सृष्टि सफल हुने/नहुने आजै साँझ टुंगो लाग्ने छ । मिस वर्ल्डको कुनैपनि सहायक टाइटलको उत्कृष्ट दशमा नेपाली सुन्दरी परेको यो पहिलोपटक हो ।
आज साँझ नेपाली समयअनुसार सवा ५ बजेदेखि मिस वल्र्डको अन्तिम प्रतियोगिता सुरु हुनेछ । बिश्वका बिभिन्न च्यानलले यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछन् । एक महिनादेखि तयारीमा रहेका बिश्वका एक सय १६ मुलुकमा सुन्दरीमध्येबाट आज मिस वल्र्ड २०१२ छानिने छ ।
आम नेपालीहरुले सृष्टिप्रति देखाएको आशा र बिश्वास पुरा गर्न सक्लिन त ? त्यसका लागि अब केही घण्टा मात्र कुरे पुग्नेछ ।