भारतीय क्रिकेटर भिभिएस लक्ष्मणले शनिबार बेलुकी अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन। भारतीय क्रिकेट टिमको संकटमोचकका नामले समेत परिचित लक्ष्मणले आजबाट सन्यास लिएका लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तथापी लक्ष्मणले न्यूजल्याण्डसँग भएको २ टेष्ट क्रिकेटको श्रृंखलामा सहभागिता जनाएका थिए।
केही समयअघि इंग्ल्याण्ड र अष्ट्रेलिया भ्रमणको समयमा भारतीय टिमको खराब प्रदर्शनपछि भारतीय क्रिकेट बोर्डले सबै सिनियर खेलाडीहरुलाई आफ्नो भविष्यको योजना स्पष्ट गर्न निर्देशन गरेको थियो । सोही कारण लक्ष्मणले सन्यास लिन लागेको जनाइएको छ । त्यस्तै लक्ष्मणले टिममा युवा खेलाडीहरुलाई स्थान दिन पनि सन्यास लिन लागेको तर्क गरिएको छ ।
भारतको टेष्ट क्रिकेटमा सम्झनलायक पारी खेलेका लक्ष्मणले करियरको सुरुवात सन् १९९६ मा दक्षिण अफ्रिका विरुद्ध खेलेर गरेका थिए । उनले १ सय ३४ टेष्ट म्याच खेल्दै ८ हजार ७ सय ८१ रन बनाएका छन् । जसमा १७ शतक र ५६ अर्धशतक सामेल छ ।



