शेयर बजार परिसूचक नेप्सेमा गिरावट जारी

काठमाडौं । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट जारी रह्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलब ९४ अंकले ह्रास भई अन्तिम दिन ३ सय ९८ दशमलब दुई आठ अंकमा आइपुुग्यो । यस साता उत्पादन मुलक समूहमा सबैभन्दा उच्च २९ अंकको बृद्धि आयो भने जलविद्युत समूहमा सबैभन्दा उच्च साढे १६ अंकले गिरावट आयो ।


कारोबार परिमाणमा भने केहि सुधार आयो । यस साता नेपाल स्टक एक्सचेन्जमा ११७ कम्पनीको ६ हजार ४ सय ७७ कारोबारबाट ३६ करोड ७८ लाख रुपैयाँ बराबरका १३ लाख १८ हजार कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता ११२ कम्पनीको ५ हजार ५ सय ९९ कारोबारबाट २७ करोड ३३ लाख रुपैयाँ बराबरका ९ लाख ३५ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा साढे ३४ प्रतिशतले वृद्धि हो ।


यस साता कारोबार रकम एवं कारोबार संख्याको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी र कारोबार भएको शेयरको आधारमा किष्ट बैंक अग्रस्थानमा रहे । कारोबार रकमकै आधारमा चिलिमे हाइड्रोपावर कम्पनीलाई किष्ट बैंक, एभरेष्ट बैंक, बैक अफ काठमाण्डू र  नेपाल दूरसंचार कम्पनीले क्रमशः पच्छयाउन पुगे ।

यस साता कञ्चन डेभलपमेन्ट बैंकको १० लाख कित्ता साधारण, टुरिजम् डेभलपमेन्ट बैंकको ६ लाख ४० हजार कित्ता साधारण र गुल्मी विकास बैंकको २ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएका छन् ।

 

– RSS