काठमाडौं । मध्य र सुदरपश्चिम नेपालका थारु समूदायले आज अट्वारी पर्व मनाउँदै छन् । हिजो सांझ दर खाएका उनीहरुले आज दिनभर पानी समेत नखाएर ब्रत बस्ने चलन छ । मध्यपश्चिमका दाङ, सुर्खेत, बाँके, बर्दिया र सुदुरपश्चिमका कैलाली तथा कञ्चनपुरका थारु समूदायले यो पर्व मनाउने गर्दछन् । थारु समूदायले अट्वारी पूजनका लागि गन्यारी भन्ने काठबाट शुद्ध आगो निकालेर त्यहि आगोबाट रोटी पकाउने चलन छ ।
शुरुमा पकाइने रोटीलाई एकातर्फबाट मात्रै पकाउने चलन छ । जसलाई रोट भन्ने गरिन्छ र सोही रोटले अट्वारी पूजा गरिन्छ । अरुबेला जाडँ रक्सी नभइ नहुने थारु समूदायमा अट्वारी पर्वमा भने जाँड रक्सीको प्रसाद चढाइदैन ।
ब्रतको भोलिपल्ट विहान सात प्रकारका गेडागुडी युक्त तरकारी खाने गरिन्छ । अट्वारी पर्वमा थारु समूदायले अग्नी देवता र पाँच पाण्डव मध्येका भेवा अर्थात् भीमको पूजा गर्ने गर्दछन् । कुनै समय दाङमा दङ्गिशरण थारु राजा रहेको बेला शत्रुले आक्रमण गरेपछि सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डव मध्येका भीमले उनलाई सहयोग गरी सत्रुलाई पराजित गरेको खुशीयालीमा यो पर्व मनाउन थालिएको मान्यता पनि थारु समूदायमा छ । – RSS