काठमाडौँ – मकै र भटमासको उत्पादनमा ५० प्रतिशत गिरावट आएका कारण ब्रोइलर कुखुराको मासुको मूल्य अझै बढ्न सक्ने देखिएको छ। कुखुराले खाने दानामा प्रयोग हुने मकै र भटमास चर्को मूल्यमा भारतबाट आयात गर्नुपर्ने बाध्यताले नेपालमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्ने गरेको दाना उत्पादक सङ्घका अध्यक्ष तिलचन्द्र भट्टराईले बताए।
दानाको मूल्य अत्यधिक बढेका कारण कुखुरापालक कृषकको आकर्षण मन्द गतिमा घटिरहेकाले बजारमा पर्याप्त कुखुरा नपाइएकाले समेत मासुको मूल्यमा बढोत्तरी भएको उनले स्वीकारे।
किसानले भने जिउँदो कुखुरा प्रतिकेजी रु १८५ देखि १९५ सम्ममा बिक्री गर्दैआएका छन्। उत्पादनमा सबैभन्दा धेरै मर्का किसानलाई परेको अध्यक्ष बिसीले उल्लेख गरे। स्वदेशमै उत्पादन हुनसक्ने मकै र भटमासमा समेत नेपाल आत्मनिर्भर हुने सकेको छैन भने अन्य अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यताले नेपाली बजारमा कुखुराको मासुको मूल्य बढ्न गएको बताइन्छ। दाना उद्योगी व्यवसायीले भटमासको पिनामा भने प्रतिकेजी रु ५० बढी तिर्नुपर्ने भएको छ। आजभन्दा चार महिनाअघि दाना व्यवसायीले सोही पिनाको मूल्य भने रु ३५ मा खरिद गर्दैआएका थिए।
दाना उत्पादन गर्न आवश्यक पर्ने मकै, भटमासको पिना, हड्डी र माछाको सिद्रा भारतबाटै आयात गर्नुपर्ने नेपाली उद्यमीको बाध्यता भएकाले दानाको मूल्यमा उतारचढाब आइरहने बताइन्छ। कुनै बेला कुखुरापालनमा निकै हौसिएका र प्रशस्त लाभ बटुलिसकेका किसान दानाको मूल्यमा भारी वृद्धिका कारण व्यवसायबाट अलग भई गाईपालनतर्फ आकर्षित हुन थालेको पाइन्छ। कुखुरा पाल्न थालेको दिनदेखि नै तनाब बेहोर्नुपरेका कारण आफू गाईपालन गर्ने सोचमा पुगेको हरि दाहालले बताउनुभयो। कुखुरा पाल्दा चल्ला मर्ने, दाना महँगो हुने, मासुको मूल्य भने जति नपाइने र बेलाबखतमा बर्डफ्लुको हल्लाले सस्तो मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने भएकाले कुखुरा पाल्ने सोच हराएको छ-उनले थपे।
नेपालमा सबै प्रकारका कुखुराका लागि दैनिक एक हजार ५०० टन दाना खपत हुने गर्छ तर सोही दाना आजभन्दा चार महिना पहिले दुई हजार २०० टन उत्पादन हुने गर्थ्यो। रासस



