सुनको भाउ अहिलेसम्मकै उच्च-एकै दिन ९ सय रुपैयाँ बढ्यो

तीज, दसैं, तिहारजस्ता चाडबाड नजिकिँदा गर्दा सुन को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एकै दिन ९ सय रुपैयाँ बढेर आइतबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन को मूल्य प्रतितोला ५९ हजार २ रुपैयाँ थियो ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सुन को मूल्य अहिलेसम्मकै बढी हो । अमेरिकी डलरको अवमूल्यन कायमै रहेकाले सुन को माग बढ्न गई नेपाली बजारमा महँगो भएको संघका सचिव दियेशरत्न शाक्यको भनाइ छ ।
‘यूरोजोनमा देखिएको आर्थिक संकटको कारणले गर्दा पनि स्टक एक्सचेन्ज भन्दा पनि सुरक्षित लगानीको लागि पनि सुन मा आर्कषण बढ्न गएको हो,’ शाक्य भन्छन्, ‘पुर्वी यूरोपका केन्द्रीय बैंकहरु जस्तो यूक्रेन, काजकिस्तान, रसिया र एसियाको फिलिपिन्सको केन्द्रीय बैंकहरुले सुन को मौज्दात बढाउदा पनि माग बढ्न गएको देखिन्छ ।’
भाउ बढ्दा नेपालसँगै छिमेकी मुलुक भारत र चीनमा पनि कारोबार घटेको शाक्यले जानकारी दिए । सिजनमा दैनिक ४५ किलो सुन बिक्री हुनुपर्नेमा अहिले दैनिक २५ किलोभन्दा कम बिक्री भइरहेको उनीहरूको भनाइ छ । भाउमा भएको उच्च गिरावटले नक्कली सुन किन्ने पनि बढेका उनीहरूको भनाइ छ ।
गत साता मूल्यमा गिरावट आएको चाँदी फेरि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भयो ।