पहेँलो धातु सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं  – पहेँलो धातु सुनको मूल्यमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ ।


मंगलबार ६० हजार रुपैयाँमा कारोबार भएको सुन को मूल्य बुधबार दुई सय रुपैयाँ बढेर ६० हजार २ सय (दस ग्राममा ५१ हजार ६ सय १० रुपैयाँ)मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।


संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्थानीय बजार उकालो लागेको हो । अघिल्लो सातादेखि सुन को मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ ।


तेलको मूल्य बढ्दा सुन उत्पादनको लागत बढेकाले पनि अन्तर्राष्ट्रिय बजार आकासिएको हो । यस्तै डलर विश्वमा प्रमुख मुद्रासँग कमजोर हुँदा लगानीकर्ता सुन तर्फ आकर्षित भएका छन् । डलरका लगानीकर्ता पनि सुन मा आउँदा बढेको मागले मूल्य बढाएको हो ।


सेयर बजारमा आएको अस्थिरताले पनि यसमा असर पारेको छ । सुन को मूल्यको सेयर र डलरसँग नकारात्मक सम्बन्ध हुन्छ । तेलको मूल्य बढ्दा भने सुन को मूल्य पनि बढ्छ । अन्तर्राष्ट्रिउ मूल्यका कारण यसरी लगातार बढेको मूल्यले स्थानीय बजारमा सुन को माग आशा गरेअनुसार बढ्न सकेको छैन ।


बुधबार चाँदीको मुल्य पनि बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

 

– RSS