नेपालमै पहिलो पटक आफैं खातामा पैसा जम्मा गर्ने एटिएम जस्तै मेसिन प्रयोगमा

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न अब लाइनमा बस्न नपर्ने भएको छ । बैंकले नेपालमै पहिलो पटक बचतकर्ताले आफैं खातामा पैसा जम्मा गर्ने एटिएम जस्तै मेसिन प्रयोगमा ल्याएको हो ।

 

 बैंकले राजधानीको  बानेश्वर शाखा कार्यालयमा राखेको मेसिनको शुक्रबार औपचारिक शुभारम्भ गरियो । मुख्य कार्यालय लाजिम्पाट, पुल्चोक, चाबहिल, नयाँसडक शाखामा पनि उक्त मेसिन संचालनमा ल्याएको बैंकले जनाएको छ ।

स्क्रिन टच मेसिनमा खाता नम्बर लेखेपछि खातावालाको नाम स्क्रिनमा देखिने र आफ्नो खातामा तुरुन्त रकम जम्मा गर्न सकिने छ । यस मेसिनबाट हरेक पटक जुनसुकै दरका ४० वटा सम्म नोट जम्मा गर्न सकिने बैंकले जनाएको छ । भारु, नक्कली, टेप टाँसिएको, टालेको, टिपेक्स लगाएको नोट भने उक्त मेसिनले नै अस्वीकार गर्ने छ ।


यस्तो खालको प्रविधि नेपालमै पहिलो पटक भित्र्याइएको र बैंकिङ सेवा थप प्रभावकारी हुने बैंकका प्रमुख कार्यकारी निर्देशक पी के मोहापात्राले बताउनुभयो । डिपोजिट सुविधा सहितको एटिएम मेसिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतले पनि प्रयोगमा ल्याउँदै आएका छन् । तर तीनमा रकम जम्मा गरेको भोली पल्ट मात्र खातामा रकम जम्मा हुन्छ । यस मेसिनबाट भने तत्काल नै खातामा पैसा जम्मा हुन्छ । बैंकले अत्याधुनिक सेवा उपलब्ध गराउने क्रममा नयाँ सेवा शुरु गरेको बैंकका सहायक महाप्रबन्धक होमनाथ गुरुङ्गले बताउनुभयो ।

 

rss