क्वालालम्पुरस्थित किनारा ओभल मैदानमा सुवासको १ सय १५ रनमा नेपालले ८ विकेट गुमाई २ सय ५८ रन बनाएको थियो। बसन्तले ५ विकेट लिएपछि नेपालले १० बलअगावै अमेरिकालाई २ सय २६ रनमा सीमित गर्यो। अमेरिकामाथि नेपालको यो तेस्रो विजय हो। दुई वर्षअघि काठमाडौंमा भएको डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। अमेरिकाले सोही वर्ष इटालीमा भएको डिभिजन ४ मा ५५ रनले पराजित गरी त्यसको बदला लिएको थियो।
कप्तान पारस खड्काले खेल सकिएपछि आइसिसीसँग भने, ‘अमेरिका जस्तो कठिन टोलीसँग खेल्दा सधैं कडा प्रतिस्पर्धा हुन्छ। तर संघर्षमय जितका लागि सबै खेलाडीलाई धन्यवाद दिनुपर्छ। नेपालले आज धेरै राम्रो सामूहिक खेल खेल्यो। नेपाल जितको हकदार थियो।’
सुरुआत राम्रो हुँदा नेपालले अमेरिकासँग चुनौतीपूर्ण स्कोर तेर्स्यायो। नेपालको स्कोर ३० रन हुँदा अनिल मण्डल व्यक्तिगत १२ रनमा रिटायर्ड हर्ट भए। उनले ९ र ११ रनमा हुँदा दुईपटक जीवन पाइसकेका थिए। सुवासले ज्ञानेन्द्र मल्लसँग मिलेर टोलीलाई १ सय ११ रनमा पुर्याए। २९ ओभरमा ज्ञानेन्द्र आउट भएपछि नेपालको पहिलो विकेट झरेको थियो। टिमरोय एलनको बलमा बाउन्ड्री लाइनमा इलमोर हुचिनसनले उनको विकेट लिए।
सुवासले कप्तान पारस खड्कासँग दोस्रो विकेटमा ६९ रन जोडेर नेपाललाई मजबुत स्थितिमा डोर्याए। ४१ रनमा रनआउट हुनुपूर्व पारसले ३४ बल खेली २ चौका र २ छक्का प्रहार गरे। सुवाससँगै क्रिजमा रहँदा पारस प्रतियोगितामा दोस्रोपटक आउट भएका हुन्। सुवास ४९ ओभरको दोस्रो बलमा आउट भए। उनले १ सय ४२ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे। २२ रनमा रनआउटबाट जोगिएका सुवासले ७१ रनमा अर्को जीवनदान पाए, जब अमेरिकी कप्तान स्टिभ मासिहले कभरमा उनको क्याच छाडिदिए।
पारस आउट भएपछि आएका अनिलले ८ रन थप जोडे। प्रदीप ऐरीले ८ बलमा १ छक्का र १ चौकासहित १४ रन बनाए। खेलको अन्ततिर छिटो रन बटुल्ने क्रममा बसन्त ६, शरद भेषावकर शुन्य, विनोद दास ७ रनमा आउट भए पनि नेपालले पछिल्लो १० ओभरमा ७४ रन जोडेको थियो।
नेपालमाथि अमेरिकाले यसअघि पाएको दुवै जितमा म्यान अफ द म्याच चुनिएका सुशील नाडकर्नीले नेपाललाई सहज हुन दिएनन्। भारतीय यु-१९ टोलीका पूर्वखेलाडी नाडकर्नीले ८४ रन बनाए। नेपालसँगको ४ खेलमा उनले ३ अर्द्धसतक बनाइसकेका छन्। एलन (२९) सँग तेस्रो विकेटमा ६१ रनको साझेदारी गरेका नाडकर्नीले मासिहसँग ८९ रनको साझेदारी गरेर अमेरिकालाई नेपालको बराबरीमा ल्याए।
देब्रेहाते स्पिनर बसन्तले ३९औं ओभरमा मासिहलाई ४१ रनमा बोल्ड गरेपछि अमेरिकाको नाटकीय पतन भयो। ८ बलको अन्तरमा नेपालले मासिह र नाडकर्नीसहितको अर्को १ विकेट लियो। नाडकर्नीको विकेट नेपाललाई विशेष थियो। अफ स्पिनर सन्जम रेग्मीको बलमा विनोदले तीन पाइला अगाडि बढेर एक हातले नाडकर्नीको सुन्दर क्याच लिए। नाडकर्नीले १ सय ६ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे। मासिहले ४१ बल खेली १ चौका र २ छक्का प्रहार गरे।
अमृत भट्टराईलाई पहिलो ओभरमा दुई चौका प्रहार गरी आक्रामक सुरुआत गरेको अमेरिकालाई त्यसपछि नेपाली स्पिनरले घुमाएका थिए। बसन्तले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर ५ विकेट लिए। अर्का दुई स्पिनर सञ्जम र शक्तिले २-२ विकेट लिए। सञ्जमले १० ओभरमा २ मेडन राख्दै ५० र शक्तिले ८.२ ओभरमा १ मेडन राख्दै ४५ रन खर्चे।



