हरितालिका तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा ६ हजार सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिने

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा ६ हजार सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज राजधानीमा पत्रकार सम्मेलन गरी २५ सय सुरक्षाकर्मी र ३५ सय स्वयमसेवक परिचालन गर्ने जनाएको हो । बृद्ध, अपाङ्ग र असक्तहरुलाई प्रहरी तथा स्वयंसेवकको सहयोगमा पशुपतिनाथको दर्शन गराउने ब्यवस्था मिलाइएको कोषले जनाएको छ ।


तीजको अवसरमा पशुपतिनाथमा सहज ढंगले दर्शनको ब्यवस्था मिलाउन ५१ सदस्यीय मूल समिति र सात वटा उपसमिति गठन गरिएको छ । तीजका अवसरमा सुरक्षा सम्बन्धी व्यवस्था, स्वयंसेवक परिचालन ,पार्किङ व्यवस्था, स्वास्थ्थ सेवा, जुत्ता चप्पल कक्षको व्यवस्था मिलाइएको छ ।


समय खर्च गरी लाइन बस्न नसक्ने र नभ्याउने दर्शनार्थीका लागि कोषले १ हजार रुपैयाँ दरको टिकट खरिद गरी सःशुल्क दर्शन गर्ने व्यवस्था मिलाएको छ । तीजका बेला भीडभाड बढी हुने र चोरी बढ्ने सम्भावना भएकोले २० वटा सिसिटिभी जडान गरी निगरानी गरिने पनि कोषणले जनाएको छ ।


पत्रकार सम्मेलनमा ५ महिनामा पशुपतिनाथमा पूजा आर्चनाबाट ४ करोड ७१ लाख २५ हजार रुपैया आम्दानी भएको जानकारी पनि दिइयो ।


 
विकास कोषका अध्यक्ष सुशील नाहटाले तिलगंङ्गा क्षेत्रमा ३४ करोड लागतमा १ हजार कोठा भएको धर्मशाला बनाउने तयारी भइरहेको जानकारी पनि दिए ।