काठमाडौं । नेपालका पहिलो ओलम्पियन भुपेन्द्र सिलवालको निधन भएको छ । पेटमा ट्युमरको समस्या भएपछि केही दिन अघि उपचारको लागि सैनिक अस्पताल छाउनी भर्ना गरिएका शिलवालको गएराती उपचारकै क्रममा निधन भएको हो । टुयुमरको शल्यक्रिया गरेयता होशमा आउन नसकेका सिलवालको वेहोशीकै अवस्थामा मृत्यु भएको हो । सिलवाललाई अहिले १० वजेपछि अन्तिम श्रद्धाञ्जलीको लागि राष्ट्रिय खेलकुद परिषदमा राखिनेछ ।
सिलवालले अघिल्लो महिना सम्पन्न लण्डन ओलम्पिकमा समेत नेपाली टोलीसँगै अतिथीको रुपमा सहभागित जनाउनुभएको थियो । सिलवाल यसैवर्ष पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको सबैभन्दा प्रतिष्ठित लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभएको थियो ।
सन् १९६४ मा जापानको टोकियोमा सम्पन्न ओलम्पीकमा म्याराथुनतर्फ सहभागि हुनभएका सिलवाल नेपालको पहिलो ओलम्पीयन टोलीका सदस्य हुनुहुन्थ्यो । टोकियो ओलम्पिकमा सिलवालसँगै अर्का धावक गंगा वहादुर थापा र ६ जना बक्सरहरु सहभागि हुनहुन्थ्यो । सिलवालका सहयात्री गंगा वहादुर थापाको अघिल्लो वर्ष निधन भएको थियो ।
सिलवालको निधनसँगै नेपाली खेलकुदको संभवत सबैभन्दा पाको पुस्ताको अन्त्य भएको छ । – RSS



