भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

भारतले आइतबार चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई सजिलै ८ विकेटले पराजित गरी विश्व ट्वान्टी-२० को सेमिफाइनल पुग्ने सम्भावनालाई ब्युँत्याएको छ। म्यान अफ द म्याच विराट कोहलीले अविजित ७८ रन बनाएपछि भारतले सुपर एटको प्रतिस्पर्धामा पाकिस्तानले छाडेको १ सय २९ रनको लक्ष्य ३ ओभर अगावै पुरा गर्‍यो।
६१ बल खेलेका कोहली ८ चौका र २ छक्का प्रहार गरे। युवराज सिंह १९ रनमा अविजित रहे। राजा हसनले पहिलो ओभरमै गौतम गम्भिरलाई खाता खोल्न नदिई पवेलियन फर्काए पनि वीरेन्द्र सेवागले कोहलीसँग मिलेर भारतलाई विजयको बाटो देखाए। सेवागले २४ बल खेली ४ चौकासहित २९ रन बनाए। उनलाई शहिद अफ्रिदीले आउट गरे।
यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तान १९.४ ओभरमा १ सय २८ रनमा समेटियो। टोलीबाट शोएब मलिकले २८, कामरान अकमालले २१, कप्तान मोहम्मद हफिजले १५, अफ्रिदीले १४ र उमर गुलले १२ रन बनाए। भारतका लक्ष्मीपथी बालाजीले ३.४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। त्यस्तै रविचन्द्र अश्विन र युवराजले २-२ तथा इरफान पठान र कोहलीले १-१ विकेट लिए।
पहिलो खेलमा अस्ट्रेलियासँग सजिलै ९ विकेटले पराजित भारतले दक्षिण अफ्रिकासँग हुने अन्तिम खेलमा विजय हात पारेमा सेमिफाइनल पुग्ने सम्भावना बन्ने छ। दक्षिण अफ्रिकालाई पनि सेमिफाइनलमा पुग्न भारतलाई पराजित गर्नै पर्ने बाध्यता छ। सवै चार टोलीका लागि सेमिफाइनलको ढोका खुल्ला हुँदा पाकिस्तान सामु अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गर्नु पर्ने लक्ष्य छ। अस्ट्रेलिया दुवै खेल जिती समूह २ मा बलियो स्थितिमा छ।
शेन वाटसन बल र ब्याटमा लगातार चौथो पटक चम्कदा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरी सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको थियो। वाटसनले २९ रन खर्चेर २ विकेट लिनुका साथै ४७ बलमा ७० रन बनाउदा दक्षिण अफ्रिकाले बनाएको १४६-५ को लक्ष्यलाई अस्ट्रेलियाले १८ ओभर भित्रै पुरा गर्‍यो।
मोर्ने मोर्केलले चौथो ओभरमै डेविड वार्नरलाई ५ रनमा बोल्ड गरे पनि वाटसनले माइक हसीसँग दोस्रो विकेटमा ६४ बलमा ९९ रनको साझेदारी गरी अस्ट्रेलियालाई विजयको बाटो देखाए। लगातार चौथो खेलमा म्यान अफ द म्याचमा चुनिएका वाटसनले ८ चौका र २ छक्का प्रहार गरे। उनी रोबिन पेटरसनको बलमा आउट भए।
माइक हसी ४५ र क्यामरन ह्वाइट २१ रनमा अविजित रहे। योहान बोथालाई मिड विकेटमा विजयी छक्का प्रहार गरेका ह्वाइटले १३ बल खेली ३ चौका प्रहार गरे। हसीले ३७ बलको इनिङमा २ चौका र २ छक्का प्रहार गरे।
८६ रन बनाउदा ५ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाबाट जेपी डुमिनीले ३० रन बनाए। त्यसपछि फारहान बेहार्डिन र पेटरसनले छैटौं विकेटमा ३५ बलमा ६० रनको अविजित साझेदारी गरे। यी दुईले अन्तिम दुई ओभरमा २८ रन जोडेका थिए। बेहार्डिनले २७ बलमा २ चौका र १ छक्कासहित ३१ तथा पेटरसनले १९ बलमा ६ चौकासहित ३२ रन बनाए।
डानियल क्रिस्टियनको स्थानमा खेलेका स्पिनर जेभियर डोहर्टीले इनिङको तेस्रो बलमै ओपरन रिचर्ड लेभीलाई आउट गरेका थिए। भने अर्को ओभरमा ज्याक कालिस (६) लाई आउट गरे। डुमिनीको विकेट पनि लिएका डोहर्टीले ४ ओभरमा २० रन खर्चे।

 

Source:Ekantipur.Com