दशै तिहारको बेलामा अवैधरुपमा भित्र्याएको ६ वटा भैसीसहित ४ जना पक्राउ

मनोज अधिकारी

 

पोखरा – चाडबाडका बेला अवैधरुपमा चौपायाको ओसार पसार हुन थालेपछि प्रहरीले सक्रियता बढाएको छ। प्रहरी शनिबार राति पोखरा भित्र्याउन लागेको एक ट्रक भैंसीसहित चार व्यापारीलाई पक्राउ गरेको छ।

 
पक्राउ पर्नेमा स्याङजा अर्चलेका तिलबहादुर गुरुङ, मोहन राना, भीमबहादुर थापा र राङखोलाका ईन्द्रजीत थापा छन्। प्रहरी चौकी छोरेपाटनबाट खटिएको टोलीले चेकिङका क्रममा स्याङजाबाट पोखरातर्फ आउँदै गरेको ध.१ ख ३६२ नम्बरको मिनी ट्रकले बिना क्वारेन्टाइन अवैधरुपमा भित्र्याएको ६ वटा भैसीसहित उनीहरुलाई पक्राउ गरेको हो।


‘भैंसीको किनबेच हुन पाउँछ तर क्वारेन्टाइन पास नगराई भैंसी ल्याएको पाइएकाले पक्राउ गरिएको हो’ कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले भने,’निरोगीताको प्रमाण-पत्र नभई चौपायाको मासु उपभोग योग्य मानिंदैन।’

उनकाअनुसार ती व्यापारीले क्वारेन्टाइनको नक्कली कागज समेत देखाएर प्रहरीलाई झुक्याउन खोजेका थिए। उनीहरुलाई आवश्यक कारवाहीको लागि भैंसीसहित जिल्ला पशुसेवा कार्यालय पठाईएको पौडेलले बताए।


यस्तै प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। म्याग्दी शिख गाविस-२ घर पोखराको नदीपुर बस्ने वर्ष ३० का रुकबहादुर तिलिजा पुन फत्राउ परेका हुन्। उनले लागूऔषध बिक्री वितरण गर्दन् भन्ने विशेष सुराकीको आधारमा टोलीले खोजी गरेको थियो। सो क्रममा उनको डेरामा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन इन्जेक्सन ४१ थान, डाईजापाम इन्जेक्सन ३२ थान, फेनरागन ईन्जेक्सन ४५ थान बरामद भएको प्रहरीले जनाएको छ। उनलाई अवैध लागूऔषध मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।