दसैँ हिंसारहित बनाउन र पशुबलि प्रथा अन्त्यको माग गर्दै देशव्यापी अभियान


काठमाडौं  – दसैँ हिंसारहित बनाउन र पशुबलि प्रथा अन्त्यको माग गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद्ले देशव्यापी अभियान सुरु गरेको छ। अभियान अन्तर्गत आज राजधानीमा र्‍याली निकालिएको छ।

 

भद्रकालीबाट सुरु भएको र्‍याली सहिदगेट, सुन्धारा, नयाँ सडक, वसन्तपुर, असन, भोटाहिटी हुँदै रत्नपार्कमा आएर सभामा परिणत भएको थियो।

सभामा पशुबलि निषेध चेतना अभियानका अध्यक्ष गोविन्द टन्डनले पशुपतिनाथको देशमा भइरहेको पशुबलि प्रथाले ‘अहिंसा परमो धर्म’ सिद्धान्तको धज्जी उडाएको बताउँदै नेपाल सरकारले दसैँमा पशुबलिको लागि बजेट छुट्याएर हिंसालाई प्रश्रय दिइरहेको आरोप लगाए।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका अध्यक्ष खिलप्रसाद घिमिरेले नेपालका अधिकांश मन्दिरमा हुने बलिका कारण भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको उल्लेख गरे।


अभियान दसैँ अवधिभरि देशव्यापीरूपमा सञ्चालन हुने बताइएको छ। रासस