अष्ट्रियाका स्काईडाईभर फेलिक्स बउमगार्टनरले ध्वनीको गतिभन्दा छिटो स्काईडाईभिङ गरेर किर्तीमान


अष्ट्रियाका स्काईडाईभर फेलिक्स बउमगार्टनरले ध्वनीको गतिभन्दा छिटो स्काईडाईभिङ गरेर किर्तीमान बनाएका छन् । अमेरीकाको न्यु मेक्सिकोमा पृथ्वीको सतहभन्दा ३९ किलोमिटर माथी बलुनबाट हाम फालेका बउमगार्टनरले विश्वमा अहिलेसम्मकै लामो, अग्लो र द्रुत गतिमा स्काईडाईभ गरेको दावी गरेका छन् ।


बउमगार्टनरको दाबीलाई फेडेरेशन अफ एरोनोटिक ईन्टरनेशनलले प्रमाणित गरेपछि मात्रै यो आधिकारीक किर्तीमान बन्नेछ । प्यारासुट खोल्नुअघि ४ मिनेट २० सेकेण्डसम्म फ्रि फल गरेको दाबी गर्ने बउमगार्टनर ध्वनीको गतिभन्दा पनि छिटो १३ सय ४२ दशमलव ८ किलोमिटर प्रतिघण्टाको दरले आकाशबाट पृथ्वीतर्फ झरेका थिए ।३९ किलोमिटर माथिको बलुनबाट हाम फालेका बउमगार्टनरको छातीमा लगाईएको विशेष प्रविधियुक्त यन्त्रले संकलन गरेको तथ्यांकहरुको आधारमा उनको गति र उचाई प्रमाणित गर्नुपर्दछ ।


३९ किलोमिटरको उचाईबाट स्काईडाईभ गरेका बउमगार्टनरलाई पृथ्वीको सतहसम्म आउन झण्डै १० मिनेट लागेको थियो । सुरुमा नियन्त्रण गुमाएका ४३ वर्षीय बउमगार्टनरले आफनो अनुभवको सही उपयोग गर्दै सफलता हात पारेका हुन् । उनले आफ्नो करियरमा २५ सय भन्दा धेरै पटक स्काईडाईभ गरिसकेका छन् ।यसअघि विश्वकै लामो, अग्लो र द्रुत गतिमा स्काईडाईभको किर्तीमान अमेरीकी डाईभर जो किटिङगरको नाममा रहेको छ । अमेरीकी एयरफोर्सका पुर्व पाईलट किटिङ्गरले ३१ किलोमिटरको डाईभर गरेर किर्मीमान राखेका थिए ।

 

– Agencies