दसैँ तिहारमा बलि चढाएको सिनो खाने प्रथा छाड्न र छुटाउन राष्ट्रिय दलित मुक्ति मोर्चाद्धारा आग्रह

बेलौरी, कञ्चनपुर – दसैँ तिहारमा बलि चढाएको सिनो खाने प्रथा छाड्न र छुटाउन राष्ट्रिय दलित मुक्ति मोर्चाले आग्रह गरेको छ। दसैँ तिहारमा विभिन्न मठ तथा मन्दिरमा पशुको बलि दिइसकेपछि सिनोका रुपमा दलित समुदायलाई दिने प्रथा हटाउन राष्ट्रिय दलित मुक्ति मोर्चाले आग्रह गरेको हो।


 राष्ट्रिय दलित मुक्ति मोर्चा कञ्चनपुरले एक विज्ञप्ति जारी गरी यस्तो प्रथा हटाउन आग्रह गरेको छ। दलित मुक्ति मोर्चाले दास प्रथाको अवशेषका रुपमा रहिआएका यस्ता संस्कार, संस्कृति र परम्पराको अन्त्य हुनुपर्ने माग गरेको छ।


जारी विज्ञप्तिमा आफ्नो मनोकामना पूरा गर्न चाडपर्वमा विशेष गरी दसैँ र तिहारमा विभिन्न शक्तिपीठमा देवीदेवतालाई बलि दिइएपछि दलित समुदायलाई सिनो दिने संस्कार अमानवीय भएको उल्लिखित छ।



मोर्चाका कञ्चनपुर जिल्ला संयोजक ईश्वर सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा गलत संस्कार संस्कृतिविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

 

– रासस