आज बडादसैँ अन्तर्गत सप्तमी-फूलपाती, घरघरमा फूलपाती भित्राइदै

काठमाडौ – बडादसैँ अन्तर्गत सप्तमी तिथिमा आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइने गरिन्छ ।


दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । सो फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ ।


गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको सो फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गर्दछ ।


घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू परिवारसँग बसेर दुर्गा भवानीको पूजा गर्न, आफ्ना मान्यजनबाट टीका थाप्न र आशिर्वाद लिन आ