राउटे समुदायमा वडादशै: खसी र भेडा भित्र्याए


सल्यान । सल्यानको छायाँक्षेत्र गाविसको बनमा बसोबास गर्दै आएका लोपोन्मुख राउटे समुदायमा पनि दशैको रौनकता छाएको छ । सरकारले राउटे समुदायका प्रत्येक सदस्यलाई मासिक एक हजार रुपैयाँ जीवन निर्वाह भत्ता बाँडेपछि उनीहरुले वडादशै अघि नै प्रत्येक घरमा खसी र भेडा भित्र्याएका छन् ।


राउटे समुदायका पूर्व मुखिया मानवहादुर शाहीले दशैं राम्रोसँग मनाउन सबैजसो परिवारले खसीभेडा किनिसकेको जानकारी दिए । दशैंमा टीका लगाई ससुराली जाँदा खसी भेडाको खुट्टा लिएर जानुपर्ने चलन भएकाले सबै राउटेले घरघरमा खसी भित्र्याएका हुन् ।


जंगल क्षेत्रमा अस्थायी टहरा बनाएर घुमन्ते जीवन विताउने राउटे समुदायका ३५ परिवार अहिले सल्यानको छायाँक्षेत्र गाविसको बनमा बसोबास गर्दै आएका छन् ।


उनीहरुको दशैं राम्रो होस भनेर सरकारले दशैं अघि नै उनीहरुलाई जीवन निर्वाह भत्ता बाँडेको हो । राउटेको दशैं खुशियाली हेर्न अरु समुदायका मानिस पनि त्यहाँ पुग्ने गरेका छन् ।

 

– RSS