त्रिशूली, नुवाकोट — धर्मको नाममा पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला प्रमुख शक्तिपीठ भैरवी मन्दिर, जालपा मन्दिरलगायत शक्तिपीठमा दशैँको अवसरमा दिने पशुबलिको सङ्ख्यामा कमी आएको छ।
मन्दिरमा वर्षौँदेखि संलग्न पुजारीका अनुसार पछिल्ला वर्षमा पशुबलिको सङ्ख्यामा कमी आएको हो। ६१ वर्षदेखि भैरवी मन्दिरमा धामी भई काम गरिरहनुभएका हरिमानसिंह डङ्गोलका अनुसार अहिलेका अधिकांश दर्शनार्थीले पशुबलिको सट्टा नरिवल चढाउने गरेका छन्।
डङ्गोलले भने “पशुबलि रोकिएको त छैन तर चार/पाँच वर्ष अघिसम्म पनि दसैँको अवधिमा ५० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो, अहिले एक/दुई वर्षदेखि १०/१५ वटामा सीमित भएको छ।”
“मानिसमा पशुबलि दिएर धर्म हुन्न भन्ने चेतना जागेर हो वा महँगीले गर्दा हो यसै भनेर ठोकुवा गर्न सकिन्न” धामी डङ्गोलले भने- मानिस पशुबलिमा कम विश्वास गर्न थालेको जस्तो देखिन्छ।
विसं २००८ देखि धामी भएर काम गरिरहनुभएका ७२ वर्षीय डङ्गोल पहिले पहिले बलि दिनेको ताँती लाग्ने गरेको अनुभव सुनाउँछन्।
“पशुबलि दिनेहरू लाइनमा बस्नुपर्थ्यो, पालो पाइनसक्नु हुन्थ्यो”‘ पुराना दिन सम्झँदै डङ्गोलले भने- अहिले फाट्टफुट्ट बलि दिनेहरु आउँछन्। सायद यो समयसँगै धर्मकर्म बलिप्रथा पनि परिवर्तन हुँदै आएको हो कि।
फूलपातीको दिनसम्ममा पनि पशुबलि दिनेको सङ्ख्या अत्यन्त न्यून रहेको भैरवी भजनमण्डलले जनाएको छ। अहिलेको पुस्ता धर्मकर्ममा आस्थावान् देखिए पनि पशुबलि दिएर पुण्यप्राप्त हुन्छ भन्ने धारणा घट्दै गएकाले बलिको चलन पनि घटेको नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए।
भैरवी मन्दिरमा मात्र होइन देवीघाटको शक्तिपीठ जालपादेवी मन्दिरमा पनि पहिलेको तुलनामा बलि दिनेको सङ्ख्या घट्दै गएको छ। जिल्लाको बेलकोट, बुधसिं, तारुकालगायत मन्दिरमा पनि बलि दिने चलन घट्दै गएको छ। पशुबलिको सट्टा नरिवल चढाउनेको सङ्ख्या बढ्दै गएको छ।
– RSS