आज हिन्दूहरुको महान् चाड बडा दशैंको नवौ दिन महानवमी,मुलुकभर दुर्गाभवानीको पूजा आराधना गरी मनाइँदै छ।
नवरात्रको नवौं तथा अन्तिम दिन आज नवदुर्गा भवानीको नवौं शक्ति मानिने महासिद्धिदात्री भगवतीको पूजा आराधना गरिँदैछ ।
विशुद्ध सुन समान चम्किलो र देदिप्यमान वर्णकी यिनी अत्यन्त सौन्दर्ययुक्त हुनुका साथै सधैं सौम्य र शान्त मुद्रामा रहन्छिन् । चार हातमा शंख, चक्र, गदा र कमलको पूmल धारण गर्ने देवी रातो वस्त्र पहिरी दिव्य आभूषणमा सजिएर कमलको पूmलमा बसेर सिंहमाथि सवार रहन्छिन् । देवी सिद्धिदात्रीले नवदुर्गा भवानीको प्रमुख शक्तिका रुपमा त्रिपुरसुन्दरी देवीको रुप धारण गर्छिन् ।
आजै दशैंघरमा वर्षभरि प्रयोग हुने हातहतियार, औजार र मेसिन राखेर पूजा गर्ने चलन छ ।
यसवर्षको बडादशैंको टीकाको शुभसाइत भोलि बिहान ११ बजेर २९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । तर टीका लगाउन भने दिनभर नै साइत कुर्नु नपर्ने जनाइएको छ । देवी विसर्जनका लागि भोलि विहान १० बजेर ३५ मिनेट उत्तम मानिएको छ ।