बडादशैको कोजाग्रत पूर्णिमा आज धनधान्यको देवी महालक्ष्मीको पूजाआराधाना गरी सम्पन्न

काठमाडौं  । बडादशैको कोजाग्रत पूर्णिमा आज धनधान्यको देवी महालक्ष्मीको पूजाआराधाना गरी सम्पन्न हुँदैछ ।

 

गत असोज ३० गते प्रतिपदाका दिन घटस्थापना गरी शुरु भएको बडा दशै कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजाआराधाना गरी विसर्जन गरिने धार्मिक परम्परा छ ।

 

सम्पत्तिकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागा बसको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधाना गरिरहेको छ , उसलाई आशीवार्द दिई धनधान्यले सम्पन्न गरिदिने विश्वास गरिन्छ । यही विश्वासका कारण आज राति गृहिणीहरु जाग्राम बसी महालक्ष्मीको पूजाआराधाना गर्छन् । दशैको टिका कोजग्रात पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापना दिन दशैघर र कोतहरुमा राखिएको जमरा विसर्जन गरिन्छ । यस अवसरमा स्वयम्भु चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।

 

कोजग्रात पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म अर्थात एक महिना साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन अनुसार आजैदेखि आकाशदीप बाल्ने र कात्र्तिक स्नान सुरु गरिन्छ ।

 

– RSS