बार्सिलोना, स्पेन । स्पनिस फुटबल लिग ला लिगाअन्तर्गत गए रातीको खेलमा लिग लिडर बार्सिलोना र साविक विजेता रियाल मड्रिड विजयी भएका छन् । बार्सिलोनाले आफ्नै मैदान क्याम्प नुमा सेल्टा डि भिगोलाई ३-१ ले हरायो ।
बार्साको जितमा एड्रियानो कोरिया, डेभिड भिया र जोर्डी अल्बाले १-१ गोल गरे भने सेल्टा डि भिगोका मारियो बर्मेजोले एक सान्त्वना गोल गरे ।
जितपछि १० खेलबाट २८ अंक जोडेको बार्सिलोना लिग तालिकाको शिर्ष स्थानमा कायमै छ । यसैगरी, आफ्नो मैदान सेन्टियागो बर्नाबेउमा रियाल मड्रिडले रियाल जारागोजालाई ४-० ले हरायो । रियाललाई जिताउन गोञ्जालो हिग्वेन, एन्जल डि मारिया, माइकल एसिन र लुका मोड्रिकले १-१ गोल गरेका थिए ।
यो जितबाट ३ अंक जोडेको रियाल मड्रिड १० खेलबाट २० अंक सहित लिग तालिकाको तेस्रो स्थानमा छ । ला लिगाकै अन्य खेलहरुमा भ्यालेन्सियाले एटलेटिको मड्रिडलाई २-० ले तथा रायो भालेकानोले मालागालाई २-१ ले हराएको छ । समान १० खेल खेलेको एटलेटिको मड्रिड लिग तालिकाको दोस्रो स्थानमा कायमै छ भने मालागा चौथो स्थानमा छ ।