नेपाल बैंक लिमिटेडको ७६औं बार्षिकोत्सवको अवसरमा यही मंसिर ३ गतेदेखि ७ गतेसम्म नेपाल बैंक लिमिटेड खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने बैंक बार्षिकोत्सव मुल समारोह समितिका संयोजक नायव महाप्रबन्धक रामबिहारी शाहले बताउनु भयो ।
उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न मुख्य प्रबन्धक बेचन गिरीको संयोजकत्वमा तिलकराज पाण्डेसहित ६ सदस्यीय उपसमिति गठन भएको छ । प्रतियोगिता स्वीस लिग प्रणालि अनुसार ९ चरणको खेल नेपाल बैंक केन्द्रिय प्रशिण केन्द्र कोपुन्डोल, ललितपुरमा संचालन हुनेछ ।
बिश्व बुद्धिचाल महासंघ फिडे, एशियन चेस फेडेरेशन र नेपाल बुद्धिचाल संघको स्वीकृतिमा रेटिङ्गसहित आयोजना हुने यस प्रतियोगितामा उत्कृष्ठ १७ जना खेलाडीहरुको लागि ९० हजार नगद पुरस्कारको ब्यवस्था गरिएको नेपाल बैंक कर्माचारी संघका महासचिव तथा उपसमितिका सदस्य रघुवर चौ प्रधानले बताउनु भयो । जसमध्ये विजेताले २५ हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार, चौथौंले ७ हजार, पाँचौंले ५ हजार, छैटौंले ४ हजार, सातौंदेखि दशौंसम्मले जनही तीन हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै अनरेटेड तर्फ प्रथमले पच्चीस सय र दोश्राले दुइ हजार नगद प्राप्त गर्नेछन् भने महिला, भेद्रान, यू १६ र रेटिङ्गमा समुहमा उत्कृष्ठ खेलाडीहरुलाइए पनि जनही एकहजार पाँचसय प्रदान गरिनेछ ।