तिहारको चौथोदिन देशभर परम्पराअनुसार गोवर्धन पूजा

काठमाडौं । आज तिहारको चौथोदिन देशभर परम्पराअनुसार गोवर्धन पूजा गरिएको छ । तिथी घटबढ भएकाले गाई र गोरु पूजा पनि एकैदिन गरिएको हो । आँगनमा लिपपोत गरी गोवर्धन पर्वतको प्रतीकका रूपमा गाईको गोवरको पर्वत आकृति बनाई गोवर्धन पूजा गर्ने गरिन्छ ।


द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई अतिवृष्टीबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ ।


आजै गाई तिहार पनि परेकाले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा पनि गरियो । शहरमा गाई पाल्नेहरु निकै कम भएकोले मनिसहरु गाईको गोठ खोजी खोजी पूजा गर्ने गरेका थिए । गाईको गोबर र गहुँतलाई धार्मिक हिसाबले पनि पवित्र मानिन्छ ।


यस्तै, वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गर्ने गोरुको पनि आजै पूजा गर्ने चलन छ ।

 

– RSS