काठमाडौं – इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४३४’ सुरु भएको छ । शुक्रवारदेखि नयाँ वर्षको मोहर्रम महिना सुरु भएको हो । इस्लामका चाडपर्वहरु हिजरी पात्रो अनुसार नै निर्धारित हुन्छन् ।
यही पात्रोको नवौं ‘रमजानल मुबारक’महिनामा विश्वभरका मुसलमानहरु एक महिना रोजा (ब्रत) बस्छन् र अन्तिम दिनमा इदउल फित्र मनाउँछन् । अन्तिम बाह्रौ ‘जिल्हिज्जा’ महिनामा विश्वभरका सक्षम मुसलमान साउदी अरबको मक्का र मदिना हज (तीर्थ) गर्न जान्छन् । त्यही महिनामा बकर ईद मनाईन्छ ।
पहिलो महिना मोहर्रमको १ देखि १० तारिखसम्म इस्लामिक मुलुकहरुमा धुमधामका साथ नयाँ वर्ष मनाउने प्रचलन छ । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा भने मोहर्रमको १० औं तारिखलाई विशेष महत्व दिने गरिएको इस्लामिक धर्मगुरु हरु बताउँछन् ।



