लुम्बिनी विकास कोषले आगामी दिनमा दैनिक १० वटा डुङ्गा सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।
लुम्बिनी विकास कोष र सुलभ जल यातायात प्रालि काठमाडौँको साझेदारीमा डुङ्गा सञ्चालनमा आएको हो।
केन्द्रीय नहरमा डुङ्गा सञ्चालनमा आएपछि डुङ्गा चढ्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लागेको छ।
सुलभ जल यातायातले आम्दानीको २५ प्रतिशत रकम कोषलाई दिने गरी सम्झौता गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिए ।
कोष र सुलभबीच भएको सम्झौताअनुसार केन्द्रीय नहरमा आवश्यकता अनुसार १०/१२ जनादेखि ४०/४५ जना अट्नेसम्मको मोटर बोट ल्याइने भएको छ।
लुम्बिनीमा डुङ्गा चढ्न चाहने नेपालीका लागि एकतर्फी रु ३५, दुईतर्फी रु ६०, सार्क मुलुकका नागरिकलाई एकतर्फी रु ४०, दुईतर्फी रु ७० तथा तेस्रो मुलुकका नागरिकका लागि एकतर्फी रु ५० र दुईतर्फी रु ८० लाग्ने छ। नेपाली विद्यार्थीहरुका लागि भने कोषले छुटसहित एकतर्फी रु २० र दुईतर्फी रु ४० लाग्ने जनाएको छ।
केन्द्रीय नहरमा डुङ्गा सुचारु भएपछि लुम्बिनीको सौन्दर्यमा थप आकर्षण थपिएको कोषका कोषाध्यक्ष अर्यालले बताए ।
लामो समयको पर्खाइपछि निर्माण कार्य सकिएको केन्द्रीय नहरमा डुङ्गा सञ्चालन भएपछि लुम्बिनी घुम्नका लागि आउने पर्यटकले थप आनन्द र मनोरञ्जन मानेको उनले बताए ।



