काठमाडौं । नेपाली चेली पुष्पा बस्नेत यस बर्षको सीएनएन हिरो हुनुभएको छ । उहांलाई आज अमेरिकी संचार माध्यम सीएनएनले प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत सन् २०१२ को सीएनएन हिरो घोषणा गरेको हो ।
नेपालका विभिन्न कारागारमा कैदी बन्दीको जीवन विताईरहेका ब्यक्तिका बालबालिकालाई पालन पोषण तथा शिक्षा दिक्षामा क्रियाशील २९ बर्षीया अविवाहिता बस्नेतलाई दुई लाख पचास हजार अमेरिकी डलरसहितको सीएनएन हिरोको उपाधी घोषणा गरिएको हो । यसरी सीएनएन हिरोको उपाधी प्राप्त गर्ने उहां दोस्रो नेपाली हुनुभएको छ ।
अघिल्लो बर्ष बेचिएका नेपाली चेलीहरुको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील संस्था माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सीएनएन हिरोको उपाधी हासिल गर्नुभएको हो । न्युयोर्कमा आज आयोजित उपाधी घोषणा कार्यक्रममा सम्बोधन गर्दै पुष्पाले उपाधी नेपाली बालबालिकालाई समपित गर्नुभयो । सिएनएन हिरो पुष्पा बस्नेतले नौ देशका प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधी हासिल गर्नुभएको हो ।
मनोनयनमा परेपछि विश्वभरिका पाठक, स्रोता, शुभचिन्तक र सहयोगीहरुले प्रदान गरेको मतको आधारमा उहां सीएनएन हिरो हुनुभएको हो । सीएनएन हिरोमा मनोनयनमा परेका नौ जनाले पचास हजार डलर पाएका छन् । सीएनएन हिरोको यो छैटौं संस्करण हो ।