किरात राईहरूले मनाउने उधौली पर्व आज

गाईघाट – किरात राईहरूले मनाउने उधौली पर्व आज उदयपुरको सदरमुकाम गाईघाटमा पनि धुमधामसाथ मनाइँदैछ। किरात राई यायोख्खा गाईघाटको आयोजनामा गाईघाटस्थित बरुवा नदीको किनारमा रहेको साकेला स्थानमा यस क्षेत्रका किराती राईले उधौली पूजा गर्दै पर्व मनाउन सुरु गरेका हुन्।

यस क्षेत्रका किराती जातिले आज बिहानैदेखि नयाँ अन्नबाट बनेका खानेकुरा तथा कुखुराको भाले चढाई स्थानीय सकेवा मन्दिरमा पूजा गर्न सुरु गरेका छन्। किरात राई पुजारीद्वारा स्थानीय भूमिदेवी (सकेला) साकेवाको मन्दिरमा पूजा सम्पन्न भएपछि उधौली पर्व र साकेला ‘चण्डी नाच’ नृत्यको आयोजना हुने किरात राई यायोख्खा गाईघाटका अध्यक्ष विमल किरातीले बताए।
 
यस क्षेत्रमा बसोवास गर्ने किराती राई समुदायहरूले उधौली पर्व मङ्सिर पूर्णिमाबाट १५ दिनसम्म मनाउने गर्दछन् भने उभौली पर्व वैशाख पूर्णिमाबाट १५ दिनसम्म मनाउने प्रचलन रहेको छ।

उधौली पर्व अन्नबाली राम्रो होस् भनेर पितृदेव तथा भूमिदेवीसँग पूजाआराधना गर्दै मनाइने गरिन्छ भने उधौली पर्व नयाँ पितृदेव तथा भूमिदेवीलाई अन्नबाली चढाएर साकेला नृत्य गर्दै मनाइने प्रचलन रहेको छ। रासस