रेडियो नेपालबाट प्रसारण भएको ‘अन्तरसंवाद’ कार्यक्रममा कांग्रेस नेता मनमोहन भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउूदै प्रधानमन्त्री बाबुराम भट्टराईले अन्तर्वार्ता लिने पत्रकार र रेडियो नेपालका कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोध्न लगाएका छन् ।
सोमबार बिहानको ‘अन्तरसंवाद’ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले ‘प्रधानमन्त्री बाबुराम भट्टराई हिन्दुस्तानको एजेन्ट हो र हिन्दुस्तानले पनि हामीले बनाएको प्रधानमन्त्री हो भन्ने गरेको छ र प्रधानमन्त्री पनि त्यसैमा गर्व गर्नुहुन्छ, यसमा मलाई दुःख लागेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
हरेक दिन बिहान साढे ६ देखि ७ बजेसम्म प्रसारण हुने उक्त कार्यक्रममा सोमबार पत्रकार प्रमोद दाहालले ‘३७ औं राष्ट्रिय मेलमिलाप दिवस’ का अवसरमा कांग्रेस केन्द्रीय सदस्य भट्टराईको अन्तर्वार्ता प्रसार गरेका थिए । ‘आफूलाई गाली गरेको अन्तर्वार्तासमेत रेडियो नेपालबाट प्रसारण भएको’ भन्दै प्रधानमन्त्री भट्टराईले सञ्चारमन्त्री राजकिशोर यादवलाई तत्काल टेलिफोन गरी भनेका थिए, ‘यस्तो अन्तर्वार्ता किन बजाएको ? तुरुन्त कारबाही गर्नोस् ।’
रेडियो नेपालसम्बद्ध स्रोतका अनुसार त्यसलगत्तै मन्त्री यादवले त्यसबारे बुझ्न र कारबाही गर्न सञ्चार सचिव सूर्य सिलवाललाई निर्देशन दिएका थिए । सचिव सिलवालले पनि ‘त्यस्तो अन्तर्वार्ता किन प्रसारण गरेको’ भन्दै कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसूग मौखिक स्पष्टीकरण लिएका थिए । कार्कीलाई हालै सञ्चारमन्त्रीले नियुक्त गरेका हुन् । प्रधानमन्त्रीकै निर्देशनमा मुख्यसचिव लीलामणि पौडेलले समेत दाहाल र कार्यकारी निर्देशक कार्कीलाई प्रस्टीकरण दिन मंगलबार १० बजे प्रधानमन्त्री कार्यालयमा बोलाएका छन् ।
अन्तर्वार्ता लिने दाहालले भने कार्यक्रममा प्रसारण भएको विचार भट्टराईका निजी अभिव्यक्ति भएको बताए । ‘त्यो उहाँको निजी विचार हो,’ दाहालले भने, ‘संविधानले स्वतन्त्र रूपमा अभिव्यक्ति दिन छुट दिएको छ ।’