महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा

काठमाडौं – महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा गरिएको छ। महाशिवरात्रि पर्वका लागि लक्षित गरी आवश्यक व्यवस्था मिलाइएको मूल समिति एवम् सरसफाइ उपसमितिका संयोजक प्रवेशराम भण्डारीले जानकारी दिए।
 उनका अनुसार पशुपति क्षेत्रमा महानगरपालिका, प्रहरी तथा स्वयम्सेवकबाट बागमती नदीको सरसफाइ गरिएको छ।
पशुपति क्षेत्रभित्र प्लास्टिक निषेध गरिएको छ। साज सजावटको कार्य अन्तिम चरणमा पुगेको छ। उनले यस पटक पनि रु एक हजारको सशुल्क दर्शन कायमै राखिएको र यसबाट करिब तीन हजार ५०० दर्शनार्थीले दर्शन गर्ने अपेक्षा गरिएको जानकारी दिए।
दर्शनार्थीका लागि तीनवटा मार्ग तय गरिएको छ। जसमा गौशाला हुँदै वनकालीको एक मार्ग, चावहिलबाट मित्रपार्क हुँदै दोस्रो मार्ग र सिफल जयवागेश्वरीको अर्को मार्ग रहेको र जुत्ता तथा चप्पल पनि सोही मार्गमा राख्ने व्यवस्था गरिएको छ।
संयोजक भण्डारीका अनुसार यसपालि राष्ट्र प्रमुखबाट हुने दर्शनका क्रममा पनि सर्वसाधारणभक्तलाई नरोकी दर्शन गर्ने व्यवस्था मिलाइएको र शिवरात्रिका दिन रातभरि पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ।
उक्त दिन पहिलोपटक नेपाली सेनाले हेलिकोप्टरबाट पशुपतिनाथ क्षेत्रमा पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको छ भने विगतका वर्षझै यस वर्ष पनि अस्थायी स्वस्थ्य शिविरको व्यवस्था, सञ्चार सहजीकरणका लागि नेपाल दूर सञ्चारले छुट्टै टावरको व्यवस्था गरेको छ।
शिवरात्रि पर्व मनाउन राजधानी तथा मुलुकबाहिरबाट करिब एक हजार ३०० सन्त, महन्त, जोगीको आगमन भइसकेको र त्यसमा करिब १०० को सङ्ख्यामा नागा-नागीबाबासमेत रहेका संयोजक भण्डारीले जानकारी दिनुभयो। यसपालि पहिलोपटक पशुपतिनाथ परिसरमा नागा-नागीबाहेक अन्य सन्त, महन्त र जोगीलाई राखिने व्यवस्था नगरिएको उनले बताए। रासस