काठमाडौं । रङैरङको पर्व होली तराई क्षेत्रमा आज मनाईदैछ । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा भने हिजो धुमधामसाथ होली मनाइयो ।
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाको दिन फागू पूर्णिमा अर्थात होली पर्व मनाउने परम्परा छ । एक साताअघि काठमाडौंको बसन्तपुरमा चीर गाडेपछि विधिवत् रुपमा शुरु हुने फागु पूर्णिमा नेपालका पहाडी क्षेत्रमा अघिल्लो दिन तथा तराईमा भने भोलिपल्ट मनाउने गरिन्छ । राजधानी, काठमाडौं हिजो विहानैदेखि सर्वत्र रङ्गिन बनेको थियो भने पहाडी क्षेत्रका प्रमुख शहर तथा ब्यापारिक केन्द्र तथा गाउँघरसम्म धुमधामसाथ होली मनाईयो । विशेष गरी तराईमा आज होली मनाइने भएपनि हिजो पनि कतिपय क्षेत्रमा होली मनाइयो । एकापसमा रङ लगाएर सद्भाव साट्ने यो पर्वलाई बसन्त उत्सवको रुपमा पनि मनाइन्छ ।
हिरण्यकश्यपु नाम गरेको राक्षसले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्नका लागि अग्नीबाट दहन नहुने बर पाएकी आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर आगोमा बसेकोमा होलिका जलेर भष्म भएको तर प्रह्लादलाई केही नभएको खुशीयालीमा होली पर्व मनाउन थालिएको शास्त्रीय वर्णन छ ।