यिनको घरमा एक सयको हाराहारीमा परेवा छन् । यि परेवा सबै उच्च नश्ल अर्थात अत्याधिक उडान क्षमता भएका हुन् । बाउ बाजेले परेवा पालेको देखेर रहरै रहरमा यसप्रति आर्कषित भएका श्रेष्ठ अहिले नेपाल परेवा उडान खेल संघका उत्कृष्ठ खेलाडीमा पर्छन् । अरु खेलको तुलनामा परेवा उडाउन निकै कठीन हुने बताउने संजय यस खेललाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।
संजय जस्तै परेवा पालनमा थुप्रै युवा लागेका छन् । त्यस्ता युवालाई संगठित गरेर राखेको छ नेपाल परेवा उडान खेल संघले । संघभित्र अहिले १ सय ५० भन्दा बढी खेलाडी छन् । हुन त राष्ट्रिय खेलकुद परिषदमा एतिहासिक खेलको रुपमा यो दर्ता पनि छ । तर अत्यन्त कठीन भएकै कारण यसलाई खेलभन्दा सोखको रुपमा बढी हेरिएको छ । परेवा उडाउन प्रतियोगितामा निकै समस्या रहेको परेवा पालक उज्वल घिमिरेको भनाइ छ ।
प्रतियोगितामा भाग लिने परेवा र परेवा पालकले विशेष तयारी गर्नुपर्छ । प्रतियोगी परेवालाई विशेष किसिमको खानपिन र तालिम दिनु जरुरी हुन्छ । छिमेकी राष्ट्रहरुमा निकै अगाडिदेखि यस्ता प्रतियोगिता हुंदै आएपनि नेपालमा २०५७ सालदेखि मात्रै शुरु भएको हो । बिहान ६ देखि सांझ ६ बजेसम्म हुने प्रतियोगितामा सहभागीसँग सात वटा परेवा हुनु जरुरी छ । परेवा धपाउन प्रतियोगिलाई १० मिनेटको समय दिइन्छ जसमा दुई घण्टाभन्दा अगावै परेवा ओर्लेमा त्यस्ता परेवा प्रतियोगिताबाट बाहिरिन्छ ।
मौसमको खरावी वा परेवालाई बाज, जमल जस्ता मांसाहारी चराले आक्रमण गरे प्रतियोगिलाई फेरि परेवा उडाउन दिइने छ । उडाएका ५ परेवाको उडान अवधि गणनागरी सबैभन्दा बढी समय उड्ने परेवापालक बिजयी घोषित गरिन्छ । यसबर्षदेखि संघले ४ लाख बराबरको रनिङ शिल्डको व्यवस्था गरेको छ । संघका सदस्य गोरखशम्शेर राणाले आफ्नो बुवाको नाममा स्थापना गरेको केयुर रनिङ शिल्डले प्रतियोगीलाई थप हौसला थपेको छ । शिल्ड आफैले राख्न खेलाडीले तीन बर्ष प्रतियोगितामा उत्कृष्ट हुनुपर्नेछ ।
खेल शुरु भएको १४ बर्ष पुग्दा पनि आफ्नै खर्चमा प्रतियोगितामा सहभागी हुन खेलाडीले बाध्य छन् । मनोरञ्जनका रुपमा शुरु भई ऐतिहासिक खेलका रुपमा स्थापित यस खेलप्रति राज्यले पनि उचित ध्यान दिनु जरुरी देखिन्छ ।



