इस्लाम धर्मावलम्बीको एक महिने रमजान सुरु

इस्लाम धर्मावलम्बीको एक महिने रमजान बुधबार राति सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्को नवौं ‘रमजानल मुबारक’ महिनाभर विश्वभरका बालिग मुसलमान रोजा (व्रत) बस्छन् ।
हिजरी संवत्को आठौं ‘शाबान’ महिनाको अन्तिम दिन साँझ सूर्यास्तपश्चात् पश्चिम आकाशमा चन्द्रमा उदाएपछि रमजान सुरु हुन्छ । त्यससँगै विश्वभरका मुसलमान रोजा ()व्रत) बस्छन् ।
बिहान सूर्योदय हुनुअघि सहेरी (खानेकुरा) खाएपछि रोजा बस्ने व्यक्तिले सूर्यस्त नहुन्जेसम्म खानपिन गर्नु हुँदैन । रोजा अवधिभर यौन सम्पर्क, चुम्बन गर्नसमेत बन्देज छ । सूर्यास्तपछि खजुर, सेवई, सर्वत, फलफूललगायतका खानेकुरा खाएर व्रत तोडिन्छ, त्यसलाई ‘इफ्तारी’ भनिन्छ । विभिन्न राजनीतिक दलका मुसलमान भ्रातृ संगठनले समेत रोजा बस्ने व्यक्तिहरूलाई भेला गरेर ‘इफ्तारी’ गराउने क्रम बढेको छ ।
‘रमजानल मुबारक’ पवित्र महिना भएकाले यस अवधिमा विशेषगरी धर्मग्रन्थ कुरआन तिलावत (पाठ) का साथै नमाज पढिन्छ । रमजान महिनामा दिनमा पाँच पटक पढिने नमाजबाहेक राति आठ बजेपछि तराविह -विशेष नमाज) समेत मस्जिदमा भेला भएर पढ्ने गर्छन् । तराविह नमाजमा पनि कुरआनका श्लोकहरू सुनाइन्छ ।
यो दान गर्ने महिनासमेत हो । यस अवधिमा धनाढ्यले गरिब, असहाय, गरिबलाई सहयोग गर्दा बढी पुण्य प्राप्त हुने विश्वास छ । काठमाडौंसहित मुसलमानहरूको बाहुल्य रहेका स्थानमा रमजानको विशेष उल्लास हुन्छ । रमजान सकिएको भोलिपल्ट मुसलमानले महान् पर्व ‘इद-उल फित्र’ हर्षोल्लासपूर्वक मनाउँछन् ।
रमजानका अवसरमा विभिन्न दल र मुस्लिम संघ/संस्थाले शुभकामना दिएका छन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बुधबार विज्ञप्तिमार्फत रमजानका अवसरमा शुभकामना दिँदै मौलिक राष्ट्रिय पर्वको रूपमा स्थापित यस पवित्र महिनाले एकबद्ध भई नयाँ नेपाल बनाउन गोलबद्ध गरोस् भन्ने कामना गरेको छ । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)ले समेत रमजानका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिँदै पवित्र महिना रमजानको बरकतले मुलुकमा शान्ति, समृद्धि र राजनीतिक स्थायित्वको वातावरण सृजना गरोस् भन्ने कामना व्यक्त गरेको छ ।
गोरखा मुस्लिम युवा समाज र गोरखा-काठमाडौं मुस्लिम सम्पर्क समाजले पनि छुट्टाछुट्टै विज्ञप्तिमार्फत विश्वभरका मुसलमानलाई शुभकामना दिँदै भातृत्व र एकतामा जोड दिएका छन् ।
RSS