भगवान शिवजीको दर्शनका लागि देशभरका शिव मन्दिरहरुमा भक्तजनको भीड

चितवन  । साउनको तेस्रो सोमबार आज भगवान शिवजीको दर्शनका लागि राजधानीसहित देशभरका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । 
काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजन विहानैदेखि दर्शनका लागि पुगेका छन् । चितवनको देवघाटमा पनि ठूलो संख्यामा भक्तजनको भीड लागेको छ । चितवन र तनहुँको संगमस्थल देवघाटमा स्थान गर्न चितवन लगायत देशका अन्य भागबाट भक्तजन देवघाट पुगका छन् । 
कास्कीको बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा पनि जल चढाउन भक्तहरु पुगेका छन् । बगर गाईघाटबाट सेती नदीको जल उठाएर शिवलिङ्गमा जल चढाउन जानेहरु निकै छन् । जनकपुरको कपिलेश्वर नाथ, जलेश्वर नाथ, क्षिरेश्वर नाथ, कुपेश्वर र कलानेश्वर महादेवको मन्दिरमा पनि पूजा पाठ गर्न श्रद्धालुको भीड लागेको छ ।
 म्याग्दीको गलेश्वर, पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको गुप्तेश्वर गुफा, कटुवाचौपारीमा रहेको अलपेश्वर गुफा, दक्षिण पर्वतको शालिग्राम शिला, स्याङजा र कास्कीको सिमानामा रहेको पञ्चासे, अर्घाखाँचीको सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीलगायतका शिवालयमा पनि भक्तजनको घुईंचो लागेको हो । त्रेता युगमा माता पार्वतीले भगवान शिवलाई वरको रुपमा प्राप्त गर्न १६ वटा सोमवारको व्रत गरेको शिवपुराणमा उल्लेख छ ।
RSS