रसुवा । धार्मिक एवम्ं पर्यटकीय दृष्टिले महत्वपूर्ण रसुवाको गोसाइँकुण्डमा यस वर्षको मेला सुरू भएको छ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका अवसरमा साताव्यापी रूपमा लाग्ने मेला सुरू भएको हो ।
२०६३ सालमा विश्व सम्पदा सुची र सिमसार क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित र अत्यन्त आकर्षक र मनमोहक मानिन्छ ।
मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएका छन् । गोसाईंकुण्ड क्षेत्रमा तीर्थालुहरूको प्रवेश शुरु भईसकेको छ । मुख्य मेला भने भदौं ५ गते जनैपूर्णिमाको दिन पर्दछ । यसबर्ष मेला अनुगमन र ठाउँ ठाउमा स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
यात्रीहरूसँग लज तथा खानाको निर्धारित दर भन्दा बढी रकम लिनेलाई कारबाही समेत गरिने भएको छ । मेलाका लागि जेनेरेटर र अक्सिजनको व्यवस्था समेत गरिएको छ । यसवर्ष १५ हजार तीर्थ यात्री आउने अनुमान आयोजकको छ ।
भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ ।
RSS