एसिसी इमर्जिङ्ग टिम्स कप क्रिकेटमा अफगानिस्तानसँग नेपालको पराजित

सिंगापुरमा शनिवारदेखि सुरु भएको एसिसी इमर्जिङ्ग टिम्स कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ ।
वर्षाले प्रभावित भएपछि डक वर्थ लुईस मेथड अनुसार जितका लागि ४६ ओभरमा १ सय ६१ रन बनाउनु पर्ने लक्ष्य पाएको नेपालका पुछारका ब्याट्सम्यानले खराब खेले र नेपाल जितेको खेल हार्न बाध्य भएको हो ।
नेपालका कप्तान पारस खड्काले ६० रन बनाएपनि त्यो जितका लाग प्रर्याप्त भएन । ६२ बलको सामना गरेको खड्काले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।  यस्तै शरद भेषवाकर र ज्ञानेन्द्र मल्लले समान २४ रन बनाए । सुवास खकुरेलले २३ रन बनाए ।
१ सय ५३ रनको अवस्थामा भेषवाकर आउट भएपछि नेपाल दवामा परेको थियो । छैटौं विकेटका रुपमा आउट भएका भेषवाकरपछि ब्याटिङमा आएका कुनै पनि खेलाडी टिक्न सकेनन् ।
यसअघि पादाङ्ग मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपाली बलरले सुरुवातदेखि नै दवावमा राख्दै १ सय ६९ रनमा सिमित गरे । अफगानिस्तानले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।
नेपालका बसन्त रेग्मीले ५ विकेट लिए । अविनाश कर्ण, चन्द्र साउद र सागर पुनले एक/एक विकेट लिए ।
रेग्मीले १५ औं ओभरको अन्तिम बलमा करिम सदक्विललाई विकेट किपर सुवास खकुरेलको हातबाट क्याच आउट गराए । यस्तै रेग्मीले २८ रन बनाएका नवोरज मंगललाई २० औं ओभरको दोश्रो बलमा चन्द्र साउदको हातबाट क्याच आउट गराए ।
चौविसौं ओभरको चौथो बलमा मोबिुल्लाह वर्यखेललाई तेश्रो शिकार बनाएका रेग्मीले ३८ औं ओभरको चौथो बलमा दौलत जद्रानलाई आउट गराए । उनले ४९ औं ओभरको अन्तिम बलमा हमिद हसनलाई आउट गरे ।
बलिङतर्फ नेपालले पहिलो सफलता छैटौं ओभरमा पाएको थियो । छैटौं ओभरको अन्तिम बलमा कर्णले २२ रन बनाएका मोहमद सेजललाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराउँदै नेपालको विकेटको खाता खोलेका थिए ।