गुलरियामा टिभी र सिलाइकटाइ मेसिन दाइजो नपाएको निहुँमा हत्या

कमल पन्थी, ईकन्तिपुर 
गुलरिया  – गुलरिया १४ की सरस्वती लोधको टिभी र सिलाइकटाइ मेसिन दाइजो नपाएको निहुँमा हत्या गरिएको माइती पक्षले आरोप लगाएको छ । मृतकका बाबु प्रसादी लोधले २४ बर्षिया  छोरी सरस्वतीलाई विष सेवन गराई मारेकाले कारबाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले हत्याका अभियोगीलाई पक्राउ गरी अनुसन्धान नगरेको आरोप प्रसादीले लगाएका छन् ।
०६५ सालमा गुलरिया १४ का राजकुमारसँग सरस्वतीको विवाह भएको थियो । परम्पराअनुसार विवाह भएको ४ वर्षपछि सरस्वती गत वर्ष घर गएकी थिइन् । बुवा प्रसादीले भने, ‘छोरीलाई दाहसंस्कार गर्दा जलाएर सद्गत नगरी गाड्न भन्दै ज्वाइँका परिवारले क्षतिपूर्ति दिने दबाब दिएका थिए ।’ ज्वाइँ मंगल भन्ने राजकुमार लोधलगायत घरपरिवारले दिनहुँ कुटपिट गर्दै प्रताडित गरेकाले छोरीको मृत्यु शंकास्पद भएको आरोपसहित प्रहरीमा उजुरी दिएका छन् । भारतीय सीमा नजिक विकट ठाउँमा भएको उक्त घटनामा प्रहरीले कारबाही अघि नबढाएको भन्दै पीडित पक्षले जिल्ला अदालत र राष्ट्रिय महिला आयोगमा समेत उजुरी दिएका छन् ।
 ‘घटना भएको तीन महिना हुन लाग्यो । कारबाही अघि बढेन,’ सरस्वतीका दाइ शिवनाथले भने । सरस्वती गत जेठ १४ गते घरदेखि करिब ७ सय मिटर पूर्वमा रहेको गोठमा बेहोस अवस्थामा लडेको देखेपछि स्थानीयले परिवारलाई बोलाएर अस्पताल पुर्‍याएका थिए । उनका पति राजकुमारले साँझ करिब साढे ६ बजे विष सेवन गरेर बेहोस अवस्थामा अस्पताल ल्याएकामा उपचार क्रममा मृत्यु भएको बताएका छन् । कपडा सिलाउन रत्नापुर गएको समय श्रीमतीले गोठमा गएर विष खाएको लोध परिवारको दाबी छ ।
मुद्दा फाँटका प्रहरी निरीक्षक प्रह्लाद शाहले मृतकको भिसेरा विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए । छानबिनका लागि एक दिन राजकुमारलाई प्रहरी हिरासतमा राखेर छाडे पनि सोधपुछ र अनुसन्धान जारी रहेको उल्लेख गर्दै उनले भने, ‘मुद्दाको किनारा नलाग्दासम्म अनुसन्धानको दायरामा रहनेछन् ।’